२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

कोरम नपुग्दा संसदीय सुनुवाइ समिति बैठक स्थगित, राजदूतहरूको सुनुवाइ २ साता पर धकेलियो

५ मंसिर, काठमाडाैँ । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको सुनुवाईका लागि बोलाइएको संसदीय सुनुवाई समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ ।

आईतबार सिंहदरवारमा बोलाइएको समितिको सो बैठक कोरम नपुगेपछि आगामी मंसीर १७ गते बस्नेगरी स्थगित गरिएको हो । कोरम नपुगेपछि समितिको बैठक आगामी मंसीर १७ गते बस्नेगरी स्थगित गर्नु परेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले एमाले र काँग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु महाधिवेशनको कारण उपस्थित हुन नसक्दा समितिको बैठक बस्नका लागि आवश्यक कोरम पुग्न नसकेको स्पष्ट पारे ।

सभापति कर्णले भने, ‘आजको बैठक कोरम पुगेन । त्यसकारण विभिन्न कारणले होला । महाधिवेशन चलिराख्या छ अहिले एमालेको । उहाँहरु केही आउनु भयो, केही आउन सक्नु भएन । नेपाली काँग्रेसको पनि गाउँ/जिल्ला अधिवेशनहरु चलेको छ । उहाँहरु पनि आउनु भएन । आउछु भन्ने मान्छेहरु पनि आएनन् ।

हामीले कमसेकम कोरम पुग्छ भनेर बैठक राखेका छौं तर त्यो भएन । नहुँदा अव एमालेको बीचमा फेरी महाधिवेशन छ । त्यसपछि आइपिओमा जाने माननीयज्यूहरु पनि परेका छन । त्यसकारण अहिले मोटामोटी १७ गते अर्को बैठक गर्ने भन्ने टेन्टेटिभ तोकेका छौं ।’

गत कात्तिक ११ गते बसेको मन्त्रीपरिषद बैठकले भारतका लागि नेपाली राजदुतमा डा. शंकर शर्मा, अमेरिकाका लागि नेपाली राजदूतमा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम सिफारिस गरेको थियो । प्रस्तावित तीन वटै देशका राजदूतहरुको सुनुवाईका लागि आजको बैठक बोलाइएको थियो । संसदीय सुनुवाई समिति १५ सदस्यीय छ । तर बैठकमा कोरम पुग्न ८ जना सदस्य चाहिन्छ । आउँछु भनेका सदस्य समेत उपस्थित नभएपछि कोरम नपुगेर बैठक स्थगित गर्न बाध्य हुनु परेको पनि समितिका सभापति कर्णले बताए ।

प्रकाशित मिति : November 21, 2021 at 2:11 pm