२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

जहाँ दुई सय रुपैयाँमा मान्छेको ढुवानी गरिन्छ !

-दिलकुमार लिम्बू

२ मंसिर,  ताप्लेजुङ । दुई सय रुपैयाँमा मन्छेको ढुवानी सुन्दा अनौठो लाग्न सक्छ । तर ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न जाने तीर्थयात्री तथा पर्यटकका लागि भने दुई सय रुपैयाँमा भरियामार्फत पहिलेदेखि नै ढुवानी हुँदै आएको छ ।

यातायातअन्तर्गत सवारीसाधन (गाडी) र हवाईमार्गमा हेलिकाेप्टर सुविधा उपभोग गरिसकेपछि पदयात्रा गर्न नसक्ने तीर्थयात्रीलाई भरियामार्फत ढुवानी हुँदै आएको छ ।

पाथीभरा धाम ३७९४ मिटरको उचाइमा छ । साे उचाइमा पदयात्रा गर्न पहाड तथा हिमाली ग्रामीण क्षेत्रका अधिकांश नागरिकलाई तुलनात्मक रूपमा सहज भए पनि सहर र तराई क्षेत्रका नागरिकलाई केही कष्ट हुने गर्दछ । यही अवस्थालाई दृष्टिगत गरी पाथीभरा क्षेत्रमा रहेको पदमार्गमा भरिया सुविधाको व्यवस्था गरिएको हो ।

पाथीभरा क्षेत्रको पदमार्ग यात्रा गर्नेका लागि भने निक्कै सजिलो छ । करिब दुई मिटर चौडा र पैदल यात्रा सहज हुनेगरी वारपार ढुंगा बिछ्याइएको छ ।पाथीभरा क्षेत्रको तल्लो फेदी (काफ्लेपाटी) देखि सुरु हुने पदमार्गको दूरी पाँच किलोमिटर छ । करिब अढाई घन्टा यात्रा गरेर उक्त दूरीको पदमार्ग पूरा गरी पाथीभरा धाममा पुगिन्छ । यद्यपि, उकालो र ओरालो हिँड्नुपर्ने हुँदा जेष्ठ, बालबालिका तथा हिँड्न नसक्ने नागरिकलाई पदयात्रा गर्न गाह्रो हुने गर्दछ ।

पदयात्रा गर्न नसक्नेका लागि पाथीभरा क्षेत्र होटल व्यवसायी महासंघको समन्वयमा भरिया सुविधाको व्यवस्था मिलाइएको छ । हाल पदयात्रा गर्न नसक्ने पर्यटक वा तीर्थयात्रीले प्रतिकिलोग्राम एकसय रुपैयाँ तिरेर भरिया सुविधा उपभोग गर्न पाउँदै आएका छन् । उक्त ढुवानी रकम तल्लो फेदीदेखि पाथीभरा धामसम्मका लागि भरिया आफैँले निर्धारण गरेका हुन् । धामदेखि पुनः फेदीसम्म भरियालाई बोकाएर फर्कनुपरे प्रतिकेजी एक सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

भरियाले मान्छे ढुवानी सुविधा दिनुपर्दा तौल भने नगरी अनुमान गरेर बोक्ने गरेको बताउँछन् । भरिया काम गर्दै आउनुभएका पासाङ शेर्पाले अनुमानमा दुई-चार केजी तौल फरक परे पनि तीर्थयात्रीले आफ्नो तौल बताउने र सोहीअनुसार ढुवानी रकम लिने गरेको बताए । भरिया सुविधा १५-२० देखि ११५ केजीसम्म तौल भएका तीर्थयात्रीलाई दिने गरेको उनकाे भनाइ छ । धेरै तौल हुने तीर्थयात्रीलाई तीन-चार जनाको समूह मिलेर बोक्ने गरेको भरियाहरू बताउँछन् ।

उकालो र धेरै उचाइ क्षेत्रमा भारी बोक्न गाह्रो हुने भए पनि तीर्थयात्रीको सुविधा र भरिया सुविधा दिएबापत पाइने पारिश्रमिकलाई हेरेर भरिया कर्ममा खट्दै आएको उनीहरूको भनाइ छ । हिजोआज सिजनका बेला दिनमा न्यूनतम तीन हजार रुपैयाँ रोज बस्ने पनि उनीहरू बताउँछन् । भरियाको कार्य गर्नलाई तीन सय बढीले सम्पर्क गरे पनि अहिले दसैँ तिहारको मौसममा करिब एक सय जना नियमित खट्दै आएका पाथीभरा क्षेत्र होटल व्यवसायी महासंघले जनाएको छ । भरियाको काम गर्नेमा केही महिलासमेत छन् । तीर्थयात्री र उनीहरूको बन्दोबस्तीका सामग्रीसमेत भरियाले बोक्ने गरेका छन् ।

अहिलेको पाथीभरा दर्शनको मुख्म मौसममा दर्शनार्थीको बाक्लो उपस्थिति हुने गर्दछ । भरिया सुविधाको व्यवस्था भएका कारण पदयात्रा गर्न नसक्ने तीर्थयात्रीलाई राहत मिलेको छ भने भरियाका लागि पनि राम्रो आम्दानीको स्रोत बनेको बताइएको छ । यसरी पाथीभरा दर्शनमा जाने पर्यटक तथा तीर्थयात्रीलाई सदरमुकाम फुङ्लिङ हुँदै तल्लो फेदीसम्म यातायातको सुविधा छ । त्यस्तै हवाई मार्गमार्फत आउन चाहानेले काठमाडौं, झापाको चन्द्रगढी र धनकुटाको भेरेटारबाट हेलिकप्टर सुविधा पनि सेवा प्रदायक कम्पनीहरुले दिँदै आएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार १४:४१