२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्छः प्रधानमन्त्री देउवा

३० कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन् । मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान)को १९ र २० औँ साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताए ।

उनले विद्युतीय चुल्हो र बस सञ्चालनका लागि उद्यमी, व्यवसायीहरुलाई सरकार प्रोत्साहन गर्न तयार रहेको बताए । प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीहरुको प्रयोगगरी देशलाई नमुना बनाउनुपर्नेमा जोड दिए । उनले ऊर्जा उत्पादकहरुले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै काम गर्न पनि आग्रह गरे ।

उनले भने – ‘हामीले किन यो ग्याँसको चुल्हो बाल्ने ? हामीसँग यति विद्युत छ कि हामी व्याट्रीबाट गाडी चलाउन सक्छौँ । बस चलाउन सक्दछौँ । हाम्रो चुल्हो पनि इलेक्ट्रिक चुल्हो हुन सक्दछ । हामी नेपालभरी नै बिस्तार बिस्तार यता जानुपर्छ जस्तो लाग्छ मलाइ । त्यस्ता जो उद्यमी हुनुहुन्छ, व्यापारी हुनुहुन्छ त्यस्तालाई इन्सेन्टीभ दिन तयार छौँ ।

काठमाडौंमा कमसेकम व्याट्रीबाट गाडीहरु सञ्चालन गरौँ । घरमा खाना पकाउने इलेक्ट्रिक चुल्हो बनाउ । भोली तराइ, मधेश सबै ठाउँमा इलेक्ट्रिक बस चलाउन सक्यौँ भने नेपाल नमुना बन्न सक्दछ । उद्योगपतिहरुलाई के भन्न चाहान्छु भने, तपाईहरु सुरु गर्नुस् । सरकारले इन्सेन्टीभ दिन्छ । अघि हाम्रो मन्त्रीजीले भन्नुभयो खल्तीमा लाइसेन्स लिएको छ, काम गर्दैनन् । त्यो पनि भएन नि । काम पनि गर्नुप¥यो । तपाईहरुलाई हामी सारा सहुलियत दिन तयार छौँ । तपाईहरु व्याट्रीमा जानुस् । नेपाललाई नमुना देश बनाउन सक्यौँ भने हामीले लिडिङ रोल लिन सक्छौँ ।’

कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले निजी क्षेत्रको माग बमोजिम निजी क्षेत्रलाई पनि विद्युत व्यापारको अनुमति दिन सरकार तयार रहेको बताए । निजी क्षेत्रलाई विद्युत व्यापार गर्नसक्ने विश्वासिलो आधारसहित आउनको निम्ति उनले आग्रह गरे । उनले भने – ‘अहिले नेपाल विद्युत प्राधिकरणले मात्र गरिरहेको विद्युत व्यापार निजी क्षेत्रले पनि गर्न पाउनुपर्ने कुराहरु उठिरहेको छ ।

यस सम्बन्धमा मैले अस्तीमात्र इपानका प्रतिनिधिहरुसँगको भेटमा भनेको थिएँ, विद्यमान ऐन, कानुनमा यस सम्बन्धमा केही प्रावधानहरु नभएको भएपनि यदी निजी क्षेत्रले हामी यो परिमाणको विद्युत यसरी विक्री गर्न सक्छौँ भन्ने आधारसहित आएमा संस्थागत आउनुस् अथवा व्यक्तिगत आउनुहुन्छ भनेपनि हामी अनुमति दिन तयार छौँ ।’

मन्त्री भुसालले नेपालमा विद्युत उत्पादनको तुलनामा विद्युतको माग र खपत बढ्न नसकेको कारणले उत्पादित विद्युत खेर गइरहेको बताए । विद्युत खेरजाँदा निजी क्षेत्र, लगानी गर्ने बैंक र राज्यले नै क्षति बेहोर्नुपरेको उनको भनाई छ ।

प्रकाशित मिति : November 16, 2021 at 2:56 pm