२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

संवादबाट समस्याकाे समाधान खोज्न कानुन व्यवसायीहरुलाई प्रधानन्यायाधीशकाे आग्रह

२९ कात्तिक, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलित सहकर्मी न्यायाधीश र नेपाल बार एसोसिएसनलाई वार्तामा आउन आग्रह गरेका छन् ।

बारले निरन्तर दुई सातादेखि आन्दोलनमा रहेका बेला सोमबार प्रधानन्यायाधीश जबराले विज्ञप्ति जारी गरेर आन्दोलित सहकर्मी न्यायाधीश र बारलाई वार्ता र संवादबाट समस्या समाधान खोज्न आग्रह गरेका हुन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै निरन्तर आन्दोलनमा रहेका न्यायाधीश र बारलाई जबराले वार्तामा बोलाएका हुन् ।

विज्ञप्ति 

प्रधानन्यायाधीश सर्वोच्च अदालत आम जनताले न्याय पाउने अन्तिम पवित्र संस्था हो । यसभन्दा माथि र पवित्र अन्य कुनै संस्था छैनन् । हामी सबैको आशा र भरोसाको केन्द्रका रुपमा रहेको न्यायपालिकामाथि यसप्रकारले एकोहोरो प्रहार भइरहंदा हुने क्षतिले राज्यका अन्य निकायसहित हामी सबैलाई क्षति पुग्ने कुरामा सम्बन्धित सबैले मनन् गर्नुपर्ने अबस्था उत्पन्न भएको छ ।

सर्वोच्च न्यायिक धरोहरका रूपमा रहेको सर्वोच्च अदालतलाई लामो समय अनिर्णयको बन्दी बनाउँदा उत्पन्न हुने परिणामले हामी न्यायपालिका सम्बद्ध सबैलाई त प्रताडित गरेको छ नै, यसले समग्र राष्ट्रलाई समेत मर्माहत र दुखित बनाएको छ।

यसबीचका घटनाक्रमले न्यायपालिकाको पवित्रता, गरिमा एवम् न्यायिक सर्वोच्चताको हाम्रो महान विरासतमाथि जसरी प्रश्न उठेको छ, त्यसका सम्भावित दूरगामी प्रभावको कल्पना मात्रले पनि हाम्रो हृदय कम्पित हुनुपर्दछ । यसले न्यायापालिका मात्र होइन, हाम्रो लोकतन्त्रको समग्र आधारलाई कमजोर बनाउँछ ।

अर्कोतर्फ, हामीले बिर्सनै नहुने पक्ष के छ भने हाम्रो संविधानले न्याय प्राप्त गर्ने जनताको अधिकारलाई मौलिक हकको रूपमा रेखांकित गरेको छ । तसर्थ विद्यमान गतिरोधलाई तत्काल अन्त्य गरी बन्दी प्रत्यक्षीकरण सहित नागरिकको न्याय प्राप्त गर्ने मौलिक अधिकार तथा न्याय निरूपण गर्ने हाम्रो कर्तव्यलाई निरन्तरता दिने वातावरण सिर्जना गर्नुपर्दछ भन्नु कुनै दुईमत रहनुपर्ने विषय होइन । यसको एकमात्र उपाय संवाद मात्रै रहेकाले तत्काल यसतर्फ संवेदनशील भइदिन सम्बद्ध सरोकारवाला पक्षमा फेरि एकपटक मेरो हृदयको गहिराईबाट हार्दिक आह्वान गर्दछ । न्यायपालिकाले सधैभरी विधिको बाटो मात्र हिँड्नुपर्दछ भन्ने मान्यतालाई आत्मसात गरेको हुन्छ । विधिभन्दा बाहिरबाट न्यायपालिकालाई हिडाउने प्रयासहरू कहि कतैबाट हुँदा सम्पूर्ण न्यायपालिका एकताबद्ध भई आवश्यक आत्मावलोकन सहित सामना गर्दै आएको छ ।

जनताको न्यायिक अधिकारको रक्षा गर्ने कर्तव्य एवं अधिकार न्यायपालिकासंग मात्र सुरक्षित रहेको तथ्यलाई हृदयंगम गरी यसको निर्वाध कार्यान्वयनतर्फ हामी सबैको दायित्व रहनुपर्दछ । कर्तव्य निर्वाह गर्ने सिलसिलामा यदाकदा प्रश्नहरू उठ्दा त्यसलाई तत्काल सम्बोधन गर्दै बार एसोसिएसन र न्यायपालिकाबीच हातेमालो गरी एक अर्काको परिपूरकका रुपमा नै अगाडि बढ्दै आएको हाम्रो इतिहास म फेरि स्मरण गर्दछ ।

पारस्परिकता र हार्दिकताको त्यो कम जहाँबाट टेको छ, त्यहिबाट समाधानको सम्भावना खोज्न सकिन्छ । विधिको पक्षमा दृढतापूर्वक उभिदै न्यायपालिकाको एकै परिवारभित्र देखिएका समस्याको हल गर्न विग्रहको बाटो छोडी संवादको मार्ग रोजौं भनी पुनः सबैमा हार्दिक आह्वान गर्दछ ।

२९ कात्तिक २०७८
चोलेन्द्र शमशेर जबरा
प्रधानन्यायाधीश

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार ११:४४