२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

१२औँ राष्ट्रिय जनगणनाः चितवनमा २१० सुपरीवेक्षक, ८६७ गणक

२५ कात्तिक, चितवन । राष्ट्रिय जनगणनाको १२औँ संस्करण आजदेखि सुरू भएको छ । जनगणना कार्यालयले खटाएका गणक र सुपरीवेक्षक आजदेखि ९ मंसिरसम्म घरघरमा खटिनेछन् ।

जनगणना कार्यालय चितवनका सूचना अधिकारी अर्जुन अधिकारीका अनुसार चितवन जिल्लामा दुई सय १० जना सुपरीवेक्षक तथा आठ सय ६७ गणक खटिएका छन् । उनीहरूले घरघरमा पुगेर विवरण संकलन गर्नेछन् । यसवर्षको जनगणनामा चितवन जिल्लामा जनसंख्या वृद्धि हुने अनुमान गरिएको छ ।

जिल्लामा सात वटा स्थानीय तहमा स्थानीय जनगणना कार्यालय स्थापना गरेर काम गर्दै आएको छ । जिल्ला कार्यालयसहित भरतपुरमा एउटा, गीतानगर, चनौली–नयाँबजार, राप्ती र खैरहनीको संयुक्त रूपमा काम गर्ने गरी भण्डारामा, रत्ननगर, कालिका र इच्छाकामनामा काम गर्ने गरी रेडक्रसग्राममा र माडीमा कार्यालय स्थापना गरेर काम गर्दै आएको उनले बताए ।

३० भदौदेखि १८ असोजसम्म सुपरीवेक्षकले संकलन गरेको विवरणलाई आधार मान्दा यसपटक चितवनको जनसंख्या करिब सात लाख ३० हजार पुग्ने अनुमान गरिएको छ । ‘सुपरीवेक्षकहरूले संकलन गरेको विवरणअनुसार १० वर्षमा चितवनमा घरधुरी संख्या बढेर करिब एक लाख ८० हजार पुगेको छ,’ अनुमानित तथ्यांकबारे जानकारी गराउँदै उनले भने । २०६८ सालमा चितवनको जनसंख्या पाँच लाख ७९ हजार नाै सय ८४ थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार १५:१९