२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

पूर्वसांसद फुयाँलसहित तीन नेताले दिए नेकपामालेबाट राजीनामा

२५ कात्तिक, खोटाङ । नेकपा (माले)का पोलिटब्यूराे सदस्य एवं खोटाङका पुर्वसांसद कुलप्रसाद फुयाँलसहित तीन जनाले पार्टीबाट राजीनामा दिएका छन् । पार्टी नेतृत्वप्रति असहमति जनाउँदै पूर्वसांसद फुयाँल, नेकपाका केन्द्रीय सदस्य श्यामराज राई र कारीप्रसाद यादवले पार्टीको सदस्य र सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुने गरी राजीनामा दिएका हुन् । मालेबाट राजीनामा दिने फुयाँल प्रदेश कमिटी सचिव पनि हुन् ।

नेतृत्वले पार्टीभित्रका जायज सुझाव र फरक मतलाई निषेध गर्ने नीति अवलम्वन गर्दै आएको, पार्टीभित्र उठ्ने आलोचनालाई पूर्वाग्रही ढंगले हेर्दैआएको अवस्थामा केही समयअघि केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटन जस्तो असंवैधानिक कदमलाई परोक्ष रुपमा सहयोग र समर्थन गर्ने नीति अवलम्वन गरेर गलत कदमलाई नै निरन्तरता दिने कार्य गरेको आराेप लगाउँदै तीन नेताले पार्टी सदस्य र सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुने गरी राजीनामा दिएका हुन् । अर्का केन्द्रीय सदस्य शंकर पोखरेलले पनि अलग्गै राजीनामा बुझाएका छन् ।

पार्टी महाधिवेशनद्धारा पारित विचार, दृष्टिकोण र कार्यनीतिका सम्बन्ध लिएका दृष्टिकोणहरुलाई पार्टीको मुल नेतृत्वले विवादास्पद र स्वेच्छाचारी रुपमा आफुखुसी व्याख्या विश्लेषण गर्दै आएको केन्द्रीय कमिटी सचिवलाई बुझाइएको राजीनामा पत्रमा उल्लेख छ ।

‘खासगरी नेपालको संविधानमा उल्लेखित महत्वपूर्ण अन्तरवस्तु, संघीयता, धर्मनिरपेक्षण, गणतन्त्रलगायत अधिकारका विषयमा दुविधापूर्ण दृष्टिकोणहरू अलवम्बन गर्दैआएको छ,’ राजीनामा पत्रमा भनिएको छ, ‘यी दृष्टिकोणहरू पार्टीको गत महाधिवेशनले पारित गरेको नीति, विचार, दृष्टिकोण र कम्युनिष्ट पार्टीले वर्तमान परिवेशमा लिनुपर्ने अग्रगामी दृष्टिकोण २०६२/०६३ को जनआन्दोलनको जगमा टेकेर अगाडि बढ्नुपर्नेमा सोभन्दा भिन्न रुपमा पुरातनवादी २०१७ साले दृष्टिकोण अगाडि सार्दैआएको छ, जसको कारणले पार्टीको विकास अवरुद्ध हुँदैआएको छ ।’

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार १४:१६