२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

लिम्पियाधुरामा जनगणनाको माग गर्दै जनगणना कार्यालयमा तालाबन्दी

-बिरादत्त भट्ट

१२ कात्तिक, दार्चुला । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले जनगणना कार्यालय दार्चुलामा शुक्रबार तालाबन्दी गरेका छन् । भारतले अतिक्रमण गरेको दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका गाउँहरूमा समेत जनगणना गर्नुपर्ने माग गर्दै उनीहरूले तालाबन्दी गरेका हुन् ।

शुक्रबार दिउँसो १ बजेतिर कार्यालयमा पुगेका तीन जना कार्यकर्ताले तालाबन्दी गरेको जिल्ला जनगणना कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेले जानकारी दिए ।

‘विप्लवका कार्यकर्ता हौं, नयाँ नक्सामा समेटिएको क्षेत्रमा जनगणना बारे घाममा बसेर कुराकानी गर्न भनेर कार्यालय बाहिर बोलाए,’ कार्यालय प्रमुख पाण्डे भने ‘एक जनाले कुरा गर्न थाल्यो, दुई जनाले कार्यालयमा ताला लगाए । साथै अफिसको बोर्डमा कालो झण्डा पनि राखे ।’

तालाबन्दी गरेपछि प्रशासन र प्रहरीलाई जानकारी गराएको उनले बताए । प्रहरी टोली जनगणना कार्यालयमा गएर केहीँ छिनमै ताला तोडेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुस्कर सिंह ऐरीले जानकारी दिए । तालाबन्दी गर्ने व्यक्तिहरूको खोजी भइरहेको उनको भनाइ छ ।

तालाबन्दीपछि नेपाल कम्युनिष्ट पार्टी विप्लव दार्चुलाका सचिव भरत मल्लले विज्ञप्ती जारी गरि नयाँ नक्सामा समेटिएको भु–भागमा जनगणना गर्न छुटाए अझै कडा संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

भारतले अतिक्रमण गरेको उक्त क्षेत्रका गाउँहरू गुञ्जी, नाभी र कुटीमा नेपालको प्रशासनिक अधिकार कायम नभएसम्म जनगणना गर्न सकिने अवस्था नरहेको जनगणना कार्यालय दार्चुलाका प्रमुख पाण्डेको भनाइ छ । न्युज कारखाना

प्रकाशित मिति : October 29, 2021 at 5:10 pm