२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

अर्कैको एजेण्डामा बिकेको बारको निर्णय ४८ घण्टा पनि टिकेन, बहसमा फर्किन सदस्यलाई अपिल

१२ कात्तिक, काठमाडौँ । वकिलहरूको साझा छाता संगठन नेपाल बार एसोसिएसनले आफ्ना सदस्यहरूलाई बहसमा फर्कन आग्रह गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर बहस बहिष्कार गर्ने निर्णय गरेकाे बारको शुक्रबार बसेको बैठकले आइतबारदेखि वकिलहरूलाई बहसमा फर्कन आग्रह गरेको हो ।

तर, प्रधानन्यायाधीश जबराको इजलास भने बहिष्कार गर्ने निर्णय गरिएको बारका केन्द्रीय सदस्य बालकृष्ण गैरले जानकारी दिए । उनका अनुसार भद्र अवज्ञा गर्दै बहसमा सहभागी हुने बारले निर्णय गरेको छ । अधिवक्ताहरूलाई कालो पट्टी बाँधेर बहसमा सहभागी हुन बारले आग्रह गरेको छ ।

कार्यपालिकासँग मिलेर भागबण्डा मागेको प्रधानन्यायाधीश जबरामाथि आरोप लगाउँदै सर्वाेच्च अदालतकै १९ जना न्यायाधीशले नै इजलास अघाेषित बहिष्कार गर्दै आएका छन् । उनीहरूको आन्दोलनप्रति बारले पनि ऐक्यबद्धता जनाउँदै सर्वाेच्चमा बहस बहिस्कार गरेको थियो ।

तर, शुक्रबार बसेको बारको बैठकले भद्र अवज्ञाको नीति लिँदै कालो पट्टी बाँधेर आइतबारबाट बहसमा सहभागी हुने, तर प्रधानन्यायाधीश जबराको इजलास भने बहिष्कार गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : October 29, 2021 at 4:49 pm