२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

नवौं वृहत राष्ट्रिय खेलकुद आयोजना गर्न मन्त्रीलाई खेलाडी संघको ज्ञापनपत्र


९ कात्तिक, काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा संघले मन्त्रालय पुगेर मन्त्री गहतराजलाई आठ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

यस्तो छ मन्त्रीलाई बुझाइएको ज्ञापनपत्र

१. खेलाडीले आफ्नो जीवनको अधिक समय प्रशिक्षणमा बिताउनुपर्ने हुन्छ । जसका कारण अध्ययन पनि राम्ररी पूरा गर्न नसकेका थ्रुपै उदाहरण छन् । राष्ट्रको प्रतिष्ठा बढाउनका लागि आफ्नो उर्बर समय खर्च गर्ने खेलाडीले खेल्न छाडेपछि आर्थिक रूपमा पनि निकै कठिनाइ भोग्नु परेको उदाहरण हाम्रासामू छन् ।

त्यसको न्युनीकरणका लागि खेलाडी र पूर्वखेलाडीलाई सरकारले सामाजिक सुरक्षा (शिक्षा, स्वास्थ्य, बिमा, यातायात, भत्ता) व्यवस्था गर्नुपर्ने हुन्छ । अन्यथा नयाँ पुस्तालाई खेल क्षेत्रमा आकर्षित गर्न कठिन हुन्छ । जिल्ला, क्षेत्र, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी, पदक विजेता (पदकको पनि वर्गीकरण) सबैका लागि सामाजिक सुरक्षामा के कति व्यवस्था गर्न सकिन्छ, त्यसको वर्गीकरण गरी नीति नै बनाउनुपर्ने आवश्यकता देखिन्छ ।

२. कुनै पनि खेलाडीले पदक जित्दा केही दिन चर्चा र केही पुरस्कार दिने परम्परा छ । तत्कालका लागि त्यो केही गरे जस्तो हुन्छ । तर, त्यसले खेलाडीको खेल जीवन र जीवनयापनका लागि पर्याप्त हुँदैन । त्यसैले कुन प्रतियोगिताका कुन पदकका विजेतालाई नियमित रूपमा कति भत्ताका रूपमा उपलब्ध गराउने भन्ने नीति नै बनाउनुपर्ने आवश्यकता छ । त्यसका लागि व्यापक अध्ययन अनुसन्धान, अन्य देशको अभ्यासलाई पनि हेर्न आवश्यक छ ।

३. नयाँ पुस्ताका खेलाडीलाई खेल क्षेत्रमा आकर्षण बढाउन र अविभावकले पनि खेल क्षेत्रमा भविष्य छ भन्ने बुझ्ने गरी सरकारले नीति ल्याउन आवश्यक छ । त्यसका लागि अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने खेलाडीलाई सरकारी स्तरबाटै रोजगारीको ग्यारेन्टी गरिनुपर्छ ।

४. समाजिक रूपमा खेलाडीको प्रतिष्ठा कायम गर्न सरकारले खेलाडीका लागि विशेष अभियान सञ्चालन गर्नुपर्दछ । स्थानीय स्तरका खेलाडीदेखि अन्तर्राष्ट्रिय खेलाडीको पहिचान खुल्ने गरी परिचय पत्रको व्यवस्था र त्यो परिचयपत्र प्राप्त गर्नेलाई सरकारले निश्चित सहुलियत दिने व्यवस्थाका लागि पहल गर्नुपर्ने आवश्यकता छ ।

५. दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने नियमावली छ । त्यो तत्कालका लागि उपयुक्त छ । तर, विगतमा सागमा एकपटक, दुईपटक, तीनपटकसम्म पदक जित्ने खेलाडीका लागि सरकारले के गर्न सकिन्छ भन्नेमा पनि सोच्नु पर्ने अवस्था छ । अन्यथा पहुँच हुनेले सबथोक पाउने तर उत्तिकै योगदान भए पनि पहुँच नहुनेले केही नपाउने अबस्था नेपाली खेलकुदमा विद्यमान छ ।

देशका लागि पदक जित्ने खेलाडीले हकलाग्दो सुविधा र सम्मानका लागि पनि राजनीतिज्ञ र प्रशासकहरूको ढोका ढोका धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । खेल जीवनपछि ती खेलाडीले खेल क्षेत्रलाई आनो अनुभव साट्ने थलोको रुपमा प्रयोग गर्न उनीहरुलाई उचित जिम्मेवारी दिने परम्पराको थालनी गर्न आवश्यक छ । अन्यथा, विगतमा जस्तै खेल जीवनपछि त्यस्ता खेलाडी विदेशिएका थ्रुपै उदाहरण छन् । खेल जीवनपछि पनि स्वदेशमै बस्ने वातावरण बनाउन सरकारले नीतिगत पहल गर्न आवश्यक छ ।

६. १३औं दक्षिण एसियाली खेलकुद देशमै भव्य रुपमा सम्पन्न भइसकेको छ । नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्यसहित कुल २०७ पदकका साथ दोस्रो स्थान हासिल गर्‍याे । तर देशलाई ऐतिहासिक रूपमा क्षेत्रीय खेलकुदको सबभन्दा ठूलो मेलामा दोस्रो स्थान दिलाउने खेलाडी र प्रशिक्षकको योगदानको उचित कदर भएको छैन । त्यही सागको नाममा परिषद् र मन्त्रालयका सीमित पदाधिकारी तथा कर्मचारीले राष्ट्रिय विभुषण पाए पनि खेलाडी र प्रशिक्षकहरु त्यसबाट बञ्जित भएको उदाहरण मन्त्रीज्युलाई जानकारी नै होला ।

तथापि, १३औं सागमा स्वर्ण विजेता खेलाडीलाई आकर्षक पुरस्कार दिइएकोमा खेलाडी संघ नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छ । तर, रजत र कास्य पदक जित्नेको कुनै सम्बोधन नभएकोमा सरकारको ध्यानाकर्षण गराउँदै पदक विजेता खेलाडीको रोजगारीको लागि पनि पहल गर्न सके खेलकुदका ति अमूल्य सम्पत्तिलाई पलायन हुनबाट रोक्न सकिने विश्वास व्यक्त गर्न चाहन्छ ।

७. कोभिड १९ महामारीका कारण रोकिएको नवौं वृहत राष्ट्रिय खेलकुद महोत्सव तत्काल गर्नका लागि मन्त्री ज्युबाट पहलकदमी होस् ।

८. विगतमा सबै खेलका राष्ट्रिय टोलीको लागि १२ महिना नै नियमित प्रशिक्षणको व्यवस्था भइसकेको थियो । तर, पछिल्लो समय महामारीका कारण यो रोकिएको अवस्था छ । तर, अब महामारी धेरै हदसम्म नियन्त्रणमा आइसकेको र खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाबाट त्यो प्रशिक्षण कार्यक्रम तत्काल सञ्चालन गराउन पनि आवश्यक छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलवार १६:१३