चोलेन्द्रलाई हटाएर आफू अनुकुलको फैसला सुनिश्चित गर्न प्रधानन्यायाधीशविरूद्धको अभियानः ज्ञवाली
९ कात्तिक, काठमाडौँ । प्रधानन्याधीश चोलेन्द्रशम्शेर राणाको राजिनामा माग्ने र तथानाम गाली गर्ने अभियान चलिरहेको बेलामा नेकपा एमालेका नेताहरू पनि मुख खोल्न थालेका छन । सत्तारू दलका नेताहरूले चरम रूपमा उयोग गरेर रणालाई सर्वोच्च अदालतको नेतृत्वबाट घोक्रेठ्याक लगाउने रणनीति अख्तियार गरेर त्यसै अनुसार अभियान चलाइराखेपछि एमाले सचिव प्रदीप ज्ञवालीले सोमबार राति मुख खोलेका छन ।
एमालेका प्रवक्ता समेत रहेका ज्ञवालीले मुख खोल्दै भनेका छन, ‘एकजना व्यक्तिलाई निशाना बनाएर चलाइएको अहिलेको अभियानको उद्देश्य यस विकृतिलाई अन्त्य गर्ने होइन, झनै संस्थागत गर्नु र आफूले भने अनुसारको फैसला सुनिश्चित गर्नु मात्रै हो। ‘युज एण्ड थ्रो’ यस अभियानले भोलि अरूलाई पनि यसै गरी शिकार बनाउनेछ।’

ज्ञवालीले सर्वोच्च अदालतमा देखा परेको विग्रह, गुटबन्दी र चरम अराजकता दुर्भाग्यपूर्ण रहेको समेत बताएका छन । उनले भनेका छन, ‘न्यायालयमा समस्या विगतमा पनि थियो, तर यसको उत्कर्ष असार २८ को फैसलाका क्रममा देखा पर्यो। निश्चित राजनीतिक नेताहरूको सत्ता स्वार्थका लागि अदालतले अनुकूल फैसला गरिदिने, सट्टामा नेताहरूले न्यायाधीशहरूमध्ये कसैलाई मन्त्री त कसैलाई तक्मा उपहार दिने( यही अपवित्र गठबन्धनको परिणाम हो आजको विकृति। ’
प्रकाशित मिति : October 26, 2021 at 8:30 am





