३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

जुवा खालबाट पक्राउ परेका डडेलधुराका कांग्रेस नेता भट्ट प्रधानमन्त्रीको आदेशमा छुटे

५ कात्तिक, डडेँलधुरा । जुवाखालबाट पक्राउ परेका डडेलधुराका कांग्रेस नेता एवं अमरगढी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गोविन्द भट्ट प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आदेशमा छुटेका छन ।

भट्टसहित अन्य तीन कांग्रेस कार्यकर्ता पनि छुटेका छन भने धेरै थुनामा रहेका छन । प्रधानमन्त्रीको सचिवालयको आदेशमा भट्ट लगायतलाइ तारेखमा छाडिएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका जुवाडेहरू प्रधानमन्त्रीको गृह जिल्लावासी भएका कारण प्रहरी अधिकारी बढी दबाबमा परेका छन ।

अमरगढी नगरपालिका–५ जिलोडास्थित पदमराज ओझाको घरबाट तास खेलिरहेको अवस्थामा कांग्रेस नेता भट्टसहित २२ जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा अधिकांश कांग्रेसकै कार्यकर्ता रहेको प्रहरी स्रोतले जनाएको छ ।

कात्तिक ३ गते बुधबार राति प्रहरीले जुवाखालबाट अमरगढी नगरपालिका–६ का वडाध्यक्ष गोविन्द भट्टसहित २२ जनालाई पक्राउ गरेको थियो । ओझाको घरमा जुवातास खेलिरहेको भन्ने सूचाना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार नौ सय ६० रुपैयाँ र चार बुक ताससहित पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा वडा अध्यक्ष भट्टसहित ईन्द्रबहादुर थापा, गगन सिंह ढाँट, गोविन्द भट्ट, विक्रम ओझा, घनश्याम गिरी, उमेश महर, भीमबहादुर महर, नरेन्द्र ओली, यज्ञराज अवस्थी, डम्बर ओझा, सुरेश साउँद, महेश जोशी, ईश्वर भट्ट, वीरबहादुर सार्की, भीम ऐर, लोकराज अवस्थी, नरेश महरा, राजेन्द्रप्रसाद पाठक, राजेन्द्र ओझा, दानबहादुर ओली, केशव कुँवर र राम खड्का रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्र चन्दले जानकारी दिएका छन ।

प्रकाशित मिति : October 22, 2021 at 1:50 pm