३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

नक्कुनी धोबी र निर्मला कुर्मीको न्यायका लागि अनेरास्ववियुको अपिल

१ कात्तिक, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जनवर्गिय संगठन अनेरास्ववियूले बाँकेका नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि अपिल गरेको छ । राज्यले न्याय दिनुको साटो पीडितहरूको उजुरी समेत लिन नमानेको भन्दै अनेरास्ववियूले उनीहरूको न्यायका लागि अपिल गरेको हो ।

सोमबार अनेरास्ववियूकी अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति प्रकाशित गर्दै दुबैको न्यायका लागि अपिल गरेकी छिन । दुबै जनाको हत्या भएको दाबी गरिएको छ ।

अनेरास्वियुको विज्ञप्ति यस्तो छः

राष्ट्रिय स्वाभिमान, गणतन्त्र, न्याय र समानताको आन्दोलनमा निर्णायक भूमिका निर्वाह गर्ने अनेरास्ववियु, शैक्षिक आन्दोलनको नेता, लोकतान्त्रिक गणतन्त्रको योद्दा, सामाजिक परिवर्तनको संवाहक, राष्ट्रियताको पहरेदार, रचनात्मक कृयाकलापको नेता संगठन हो । लोकतन्त्र र मानव अधिकार, सामाजिक न्याय सँगसँगै बिद्यार्थी हकहित र अधिकार प्राप्तिको लागि निरन्तर जागरुक रहँदै उज्वल शैक्षिक भविश्य निर्माणका निम्ती समेत सदैव क्रियाशील रहेको संगठन हो ।

यसै सन्दर्भमा मिति २०७८ साउन ५ गते बाँके जिल्ला जानकी गाँउपालिका वडा नं ०२ स्थित आफ्नै घरमा झुण्ड्याइएको अवस्थामा भेटिएकी नकुन्नी धोबी र नेपालगञ्ज उपमहानगरपालिका वडा नं १७ परमपुर निवासी निर्मला कुर्मीलाई आफ्नै घरबाट बेपत्ता बनाई हत्या गरिएको घटनामा निजहरुका आफन्तहरुले न्याय प्राप्तिका लागि जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र अन्य निकायहरुमा किटानी जाहेरी लिएर जाँदा समेत जाहेरी बुझेर सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्ने कुरा त परै जाओस्, पिडितका आफन्तहरुलाई उल्टै धम्काउने काम भएको छ, यस प्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

पिडीतलाई न्याय र अपराधीलाई कठोर भन्दा कठोर कारबाही हुनु पर्दछ भनि महिला अधिकार मञ्च बाँकेको अगुवाईमा केही दिन बाँके जिल्ला प्रशासन कार्यलय अगाडि धर्ना गरेपश्चात मिति २०७८ भदौ १ गते देखि नेपालगञ्ज बाट काठमाण्डौं सम्म पैदल यात्रा गरि माईतीघर मण्डलामा अधिकारकर्मी रुवी खान लगायतका अधिकारकर्मीहरु आमरण अनसन बसि रहनु भएको छ। अधिकारकर्मीहरुको माग र स्वास्थ्य प्रति असंम्वेदनशील यो सरकार मुखदर्शक रहदै व्यापक धरपकडमा उत्रिएको छ । यी र यस्ता घटनाक्रमहरुले यो परमादेशी सरकार नै उक्त घटनामा पिडक रहेको तथ्य उजागर भएको छ ।

हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराध र माफियाकरणको संरक्षण गर्ने जस्तोसुकै व्यवस्था, व्यक्ति र प्रवृत्ति विरुद्द जेहाद छेडेको संगठन अनेरास्ववियु न्याय प्राप्तिको यो लडाईका लागि परमादेशबाट किस्तिमा आएको यो सरकारलाई कडा चुनौति दिन चाहन्छौ र उक्त घटनामा न्याय प्राप्तिका लागि आमरण अनसनरत रुवी खान लगायतका सबै आन्दोलनकर्मीहरुको जीवन रक्षाको ग्यारेन्टी गदै पिडीतलाई न्याय दिलाउन आन्दोलनरत पक्ष सँग यथाशीघ्र वार्ता र छलफलको माध्यमबाट अनसन अन्त्य गदै घटनाको निष्पक्ष छानबिन गर्न जोडदार माग गर्दैर्छौ । अन्यथा अनेरास्ववियु पिडीतको पक्षमा कडा आन्दोलन गर्न बाध्य हुनेछ र हाम्रो आन्दोलनबाट उत्पन्न हुने जस्तोसुृकै परिणामको जिम्मेवार स्वयम् यो परमादेशी सरकार हुनेछ ।

प्रकाशित मिति : October 18, 2021 at 6:09 pm