३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

नेतृत्वमा पुगेका महिलाको अनुभवः दृढ संकल्पले नै भविष्य निर्माण गर्न सकिन्छ

-ज्ञानु पंगेनी

१ कात्तिक, कावासोती । विभिन्न क्षेत्रमा रहेर नेतृत्व सम्हालेका तथा महिलाको अधिकारका लागि लागेर सामाजिक रुपमा सक्रिय पूर्वी नवलपरासीका महिला र किशोरीहरुबीच अन्तरसम्वाद तथा अनुभव आदान प्रदान कार्यक्रम सोमबार देवचुली नगरपालिकामा भएको छ ।

अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर जागृती बाल तथा यूवा सरोकार नेपाल, क्रियाशील पत्रकार महिला नवलपुर , गल्स नवलपुर नेटवर्क लगायत विभिन्न संघसंस्थाको आयोजना तथा कन्नालनको सहयोगमा भएको कार्यक्रममा जिल्लाको पहिलो महिला प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी , हुप्सेकोट गाउँपालिका प्रमुख लक्ष्मी पाण्डे,नेपाल पत्रकार महासंघ नवलपुरका महिला उपाध्यक्ष मुना दाहाल, एच. आई. भि.संक्रमितको क्षेत्रमा काम गर्ने संस्था लुम्बीनी पलसका अध्यक्ष निर्मला पौडेल, शिक्षक चन्दा न्यौपाने, फुटवल खेलाडी सान्तवना पुन, गण्डकी प्रदेश बाल परिषद सचिव आश्मा अर्यालले आफ्नो अनुभवनका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले आफुले दृढ संकल्प लिएर कुनै पनि काममा अगाडी बढ्छु भन्ने हो भने , आर्थिक कुराले रोकिनु नपर्ने बताउनुभयो । कुनै पनि कामलाई म सक्दिन भनेर भन्नै नहुने भन्दै उहाँले जस्तोसुकै काम गर्ने आँट गर्न किशोरीहरुलाई सुझाव दिनुभयो ।

उहाँले आफु सामान्य परिवारमा जन्मेको हुँदा धेरै दुःख कष्ट गरेर पढेको अनुभव सुनाउनुभयो । तत्कालीन समयमा महिलाले पढ्न हुन्न र महिलाले केही गर्न सक्दैनन् भन्ने समाजको धारणालाई चिर्न धेरै संघर्ष गर्नुपरेको उहाँले सुनाउनुभयो । आर्थिक अभावकै बीचमा पढाईलाई निरनन्ताता दिदै आज जिल्लाको नेतृत्व लिने तहमा पुगेको उहाँले बताउनुभयो । आफुले गरेको उपलब्धी सुनाउँदै उहाँले आफ्नो पहिलो उपलब्धी भनेको तमासपुरको भूपु गाउँमा तत्कालीन समयमा महिलाले खोप लगाउने वातावरण बनाउन सफल भएको , महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी गराउने काम थालनी गरेको बताउनुभयो ।

यस्तै हुप्सेकोट गाउँपालिका प्रमुख लक्ष्मी पाण्डेले पनि आफ्ना संघर्षका कथा सुनाउनुभएको थियो । ग्रामिण भेगमा जन्मेर छोरीचेलीले पढ्ने , त्यसमाथी राजनीति गर्ने सपना देख्नु नै ठूलो कुरा हुने त्यो, समयमा पढाईलाई निरन्तरता दिन समेत निकै समस्या भएको उहाँले अनुभव सुनाउनुभएको थियो । बिवाहपछि पनि पढाईलाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।

तत्कालीन समयमा बुहारीले पढ्न निकै गाह्रो थियो । उहाँले भन्नुभयो । ‘बिहान चार बजेर उठेर दैलोकूचो गरी घरधन्दा सकेर मात्रै क्याम्पस पढ्न जानुपरथ्यो , अहिलेको जस्तो सहज समय थिएन । महिलाहरु खुलेर हिड्न बोल्न पाईदैनथ्यो, बोल्यो भने उछृङखल भई भन्थे , त्यस्तो समय र परिस्थीतको सामाना गरेर आज यहाँसम्म आएको छु ।’

उहाँले आफुलाई राजनीतिमा लाग्ने ठूलो ईच्छा हुँदाहुँदै पनि लामो समयसम्म घरपरिवार र छोराछोरीका कारण सक्रिय रुपमा लाग्न नसकेको बताउनुभयो । आर्थिक अभभावकै कारण राजनीति गर्ने ईच्छा हुँदाहुँदै पनि शिक्षण पेशा अंगालेको उहाँले बताउनुभयो । तर , ईच्छाशक्ति नै ठूलो कुरा रहेको भन्दै उहाँले विभिन्न दुःखकष्टलाई पार गर्दै आज आफ्नो लक्ष्यमा पुग्न सफल भएको बताउनुभयो । उहाँले महिला नेतृत्वमा पुगेमा महिलाका हक अधिकार सुनिश्चित हुने भएकाले सहभागि किशोरीहरुलाई नेतृत्व गर्छु भन्ने योजनाका साथ संकल्प लिएर अहिल्यैदेखि अगि बढ्न प्रेरित गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्नुभएका महिलाहरुले महिला भएकै कारण समुदायले हेर्ने दृष्टिकोण फरक हुँदा , महिलालाई हरेक कुरामा रोक्ने सामाजिक मूल्यमान्यताले पनि अगि बढ्न धेरै संघर्ष गर्नुपरेको अनुभव सुनाउनुभएको थियो । तर, हरेस नखाएर , आँट हिम्मत गरेकै कारण आज आफुहरु मञ्च अगाडी आएर अरुका लागि प्रेरणा दिन सक्ने बनेको बताउनुभयो ।

किशोरीहरुलाई पनि उहाँहरुले समस्या आउँछन् तर , समस्याको सामना गर्दै हिम्मतका साथ आफ्नो लक्ष्य प्राप्तीका लागि लड्न आग्रह गनुभयो । पुरुषको तुलनामा महिलालाई आफ्नो भविश्य निर्माण गर्न सहज नभएकाले, असहज परिस्थीतबाट भाग्ने नभई डटेर सामाना गर्दै आफ्नो लक्ष्यमा पुग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट प्रतिनीधि मुलक रुपमा १३ देखि २२ वर्ष उमेर समूहका किशोरीहरुको सहभागिता रहेको थियो । भविश्य निर्माण गर्नेक्रममा रहेका किशोरीहरुलाई मार्ग दर्शन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । नेतृत्व तहमा पुगेका महिलाहरुका अनुभव र प्रेरणाले किशोरीहरुलाई उर्जा प्रदान गर्ने भएकाले यस प्रारको कार्यक्रम आयोजना गरिएको जागृती बाल तथा यूवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभयो ।

क्रियाशील पत्रकार महिला नवलपुरकी अध्यक्ष ज्ञानु पंगेनीको अध्यक्षमा भएको कार्यक्रमा चङ्गा फाउन्डेशनकी कोषध्यक्ष निरुता खत्रीले स्वागत तथा कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्नुभएको थियो । कार्यक्रममा क्रियाशील पत्रकार महिला नवलपुरकी सचिव राधिका भुषाल र गल्स नवलपुर नेटवर्ककी विद्या ढुङ्गानाले सहजीकरण गर्नुभएको थियो ।

प्रकाशित मिति : October 18, 2021 at 12:14 pm