१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

चार वर्गका भूकम्पपीडितको घर सरकार आफैँले बनाइदिने

१८ फागुन, काठमाडौँ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले चार वर्गका जोखिमयुक्त भूकम्पपीडितको घर पुनःनिर्माणको पहल अघि बढाएको छ ।

प्राधिकरणले ७० वर्षमाथिका वृद्धवृद्धा, ६५ वर्ष नाघेका अशक्त एकल महिला, दृष्टिविहीनलगायत रातो तथा नीलो कार्डधारी अपांगता भएका व्यक्ति तथा १६ वर्षमुनिका नावालिगको घरबासको व्यवस्था गर्न कार्य्विधि तयार गरी लगत संकलन अघि बढाएको छ ।

प्राधिकरणको सूचना शाखाले भूकम्प अतिप्रभावित १४ जिल्लामा करीव १६ हजार २०५ जोखिमयुक्त वर्गका लाभग्राहीको प्रारम्भिक तथ्यांक निकालेको छ । प्राधिकरणले स्थानीय सरकारमार्फत पनि यी वर्गका लाभग्राहीको लगत माग गरेको छ ।

लाभग्राहीको संख्या निश्चित भएपछि प्राधिकरणले परोपकारी संस्थालाई घर पुनःनिर्माणका लागि आह्वान गर्ने छ । सो विषयमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाललगायत अधिकारीले बेलायती विकास नियोग (डिफिड) का प्रतिनिधिसँग छलफल गरेका छन ।

प्राधिकरणमा आएको डिफिड नेपालका पुनःनिर्माण सल्लाहकार म्याग्नस मुरे तथा भूकम्पपछिको पुनःनिर्माण समूहका प्रमुख लियोनार्ड टेडसहितको टोलीले अशक्त वर्गका भूकम्पपीडितको घर निर्माण गर्ने ढाँचाबारे आफ्नो धारणा राखेको थियो ।

प्राधिकरणले यी वर्गका पीडितको घर निर्माण गर्न आफ्नो कार्य्विधि र अन्तिम सूचीअनुसार राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय संस्थासँग छलफल गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : March 2, 2018 at 10:00 pm