३० असार २०८३, मंगलबार | Wed Jul 15 2026

कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण भएको स्क्रब टाइफसबाट बच्ने यस्ता छन् उपाय

१८ असोज, काठमाडौँ । कोरोनाभाइरस संक्रमितको लक्षणसँग मिल्दोजुल्दो लक्षण भएको स्क्रब टाइफस अहिले देखिन थालेको छ। स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्दछ । समयमा उपचार हुन नसके यसले गम्भीर रूप पनि लिन सक्छ ।

यसको संक्रमणका कारण मानिसमा मस्तिष्क, कलेजो, फोक्सोलगायतमा संक्रमण र कहिले काहीँ बहुअंग विकार (मल्टी अर्गन डिल्फसन)को अवस्था पनि सिर्जना हुन सक्नेछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दोजुल्दो यस स्क्रब टाइफस अहिले देखिन थालेकाले सचेत र सतर्क रहन आग्रह गरेको छ । मुसाको कानमा वा अन्य जन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोकेमा यो रोग सर्दछ ।

स्क्रब टाइफसका लक्षणहरू

– उच्च ज्वरो आउनु

– टाउको धेरै दुख्नु

– आँखा रातो हुनु

– जोर्नी र मांसपेशी दुख्नु

– खोकी, वान्ता, पेट दुखाइ र पखाला लाग्नु

– सास फेर्न गाह्रो हुनु

– टोकेको ठाँउमा कालो दाग देखिनु

– बिमिरा आउनु

बच्ने उपाय

– किर्नाको टोकाइबाट बच्न खेत, झाडी वा वनजंगल जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा किटनाशक मलमको प्रयोग गर्ने

– घर वरिपरिका खेतबारीमा घाँसहरू धेरै बढ्न नदिने र वातावरण सफा राख्ने

– मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने

– मास्कको प्रयोग, हातखुट्टा साबुन पानीले धुने, खोक्दा हातको बाहुलीले मुख छोप्ने र सकेसम्म दूरी कायम गर्ने

यस रोगका लक्षणहरू कोभिड १९ सँग पनि मिल्दोजुल्दो हुने भएकाले कोभिड १९ परीक्षण गर्दा स्क्रब टाइफसको जाँच गरी समयमै रोग पहिचान गरेर औषधि उपचार गरेमा यो रोग निको हुन्छ।

प्रकाशित मिति : October 4, 2021 at 3:48 pm