३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

खाद्यान्नमा भएको कालोबजारी नियन्त्रण गर्न गृहमन्त्रीसँग अनेरास्ववियुको आग्रह

१२ असोज, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले चाडपर्वको बेलामा बजारमा देखिएको कालोबजारी नियन्त्रण गर्न माग गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापनपत्र बुझाउँदै चाडपर्व नजिकिएसँगै बजारमा कालोबजारी बढेको भन्दै नियन्त्रण गर्न माग गरेका हुन् ।

‘चाडपर्व नजिकिँदै गर्दा दैनिक उपयोग गर्ने खाद्यान्न सामग्रीमा मूल्यवृद्धि र कालोबजारीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनेका छन्, ‘वर्तमान सरकारलाई जनताका मौलिक अधिकारको प्रत्याभूत गरी जनताले दैनिक उपयोग गर्ने खाद्यान्नमा महँगी नियन्त्रण गरी जनतालाई सरकार रहेको अनुभूति दिलाउन अनुरोध गरिन्छ ।’

अनेरास्ववियुले खाने तेल, खाद्यवस्तु र इन्धनमा भएको मूल्यवृद्धि, यातायातमा भएको भाडावृद्धि फिर्ता गर्नसमेत माग गरेको छ ।

यस्तै, यातायातमा विद्यार्थीले पाउँदै आएको ४५ प्रतिशत छुटको कार्यान्वयन, हवाई यातायातमा छुट, कालोबजारी नियन्त्रणलगायतका जनसरोकार र जनजीविका विषयमा नियन्त्रण र अनुगमन गर्नसमेत अनेरास्ववियुले गृहमन्त्री खाणको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : September 28, 2021 at 8:30 pm