२८ भदौ २०८३, आइतबार | Sun Sep 13 2026

एमालेको ‘हाइटेक’ विधान महाधिवेशन जाने बाटोमा खाल्डाखुल्डीको बीचमा मात्रै सडक

११ असोज, काठमाडाैँ । नेकपा एमालेको  ‘हाइटेक’ प्रविधिमा हुन थालेको विधान महाधिवेशन स्थल पुग्न सहभागीलाई हम्मेहम्मे हुने भएको छ ।

काठमाडौंदेखि २० मिनेटमा पुगिने महाधिवेशनस्थल खरावबाटोका कारण एक घण्टा लाग्ने भएको छ । एमालेले महाधिवेशनका लागि महाधिवेशन स्थल सनराइज सम्मेलन केन्द्र पुग्ने बाटो मर्मत गरे पनि खराब नै रहेको छ । सडकमा खाल्डाखुल्डीको बीचमा कतै कतै मात्र सडक पिच रहेको छ ।

ग्रावेल बाटो भए पनि ठाउँ–ठाउँमा बिग्रेकोले प्रतिनिधिलाई सभास्थल पुग्न समस्या हुने एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताए । सातदोबाटो भन्दामाथि पुगेपछि बाटो भरि खाल्डाखुल्डी रहेका छन् । सातदोबाटोबाट सभास्थल जाने बाटो ठाउँ-ठाउँमा बिग्रिएको छ ।

आफ्नै मोटर गाडीमा जानका लागि केही सहज भए पनि मोटरसाइकल वा स्कुटीमा जानका लागि भने समस्या हुनेछ ।

निर्माणकै चरणमा रहेको ग्रावेल बाटोका कारण प्रतिनिधिले सास्ती भोग्नुपर्ने हुन्छ । ‘बाटो देखेर त धेरै प्रतिनिधिले हामीलाई गाली गर्ने छन्,’ केन्द्रीय सदस्य भट्टराईले भने, ‘तर सभास्थल पुगेपछि भने अर्कै रौनक आउने छ ।’ उनले पहिलेभन्दा अहिले बाटो बनाइएको बताए ।

उनले महाधिवेशनमा पाँच हजार प्रतिनिधि सहभागी हुने भएपछि गोदावरीको सनराइज सम्मेलन केन्द्र रोजिएको बताए ।  ‘धेरै प्रतिनिधि भएर मात्र हामीले गोदावरीको सम्मेलन केन्द्र रोजेका हौं,’ उनले भने, ‘होइन भने त्यही भृकुटीमण्डप पनि टेन्ट गाडेर महाधिवेशन गर्न सक्ने थियौं ।’

सम्मेलनको सभामा दुई हजार ८४० जना अटाउने कुर्सी र सानासाना अन्य दुई कोठामा करिब एक हजारका दरले दुई हजार गरी पाँच हजार प्रतिनिधि अटाउन सक्दछन् ।  करिब ७७ करोड रुपैयाँमा बनेको सम्मेलन केन्द्रमा पहिलो पटक एमालेको विधान महाधिवेशन हुँदैछ । न्युजकारखाना

प्रकाशित मिति : September 27, 2021 at 10:21 pm