३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

संसद् अधिवेशन अन्त्य गरेर दलसम्बन्धी अध्यादेश फिर्ता लिने सरकारको तयारी

११ असोज, काठमाडौँ । सरकारले चालू संसद् अधिवेशन अन्त्य गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी थालेको छ ।माओवादी केन्द्रको सोमबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलका शीर्ष नेताबीच संसद् अधिवेशन अन्त्य गरेर दलसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी भइरहेको ब्रिफिङ गरेका छन् ।

प्रचण्डको यो ब्रिफिङलाई पुष्टि गर्ने गरी कांग्रेसका एक नेताले आज बस्ने मन्त्रिपरिषद् बैठकले चालू अधिवेशन अन्त्य गर्ने र त्यसपछि अध्यादेश फिर्ता गर्ने निर्णय गर्ने तयारी भइरहेको बताए ।

‘संसदबाट अध्यादेश विस्थापन या निष्क्रिय पार्ने सम्भावना छैन, अध्यादेश सक्रिय भएसम्म मन्त्रिपरिषद् विस्तार नहुने भयो, त्यही भएर अधिवेशन अन्त्य गरेर अध्यादेश फिर्ता लिने प्रक्रिया अघि बढेको छ,’ ती नेताले भने, ‘सम्भवतः आजको मन्त्रिपरिषद् बैठकले यस विषयमा निर्णय गर्ला ।’

सत्ता गठबन्धनका दुई दल जसपा र नेकपा (एकीकृत समाजवादी) ले सरकार विस्तारअघि अध्यादेश फिर्ता लिनुपर्ने अडान राखेपछि नयाँ विकल्पका रूपमा अधिवेशन अन्त्यको गृहकार्य अघि बढाइएको उनको भनाइ छ ।

माओवादी केन्द्रका नेताहरूका अनुसार संसदमा अध्यादेश पेस गर्ने विकल्पमा छलफल भए पनि एमालेको निरन्तरको अवरोधका कारण अघि बढाउन नसकिने अवस्था भए समस्या पर्ने देखिएकाले मन्त्रिपरिषद्बाटै फिर्ताको प्रक्रिया अघि बढाउन नेताहरूबाट सुझाव आएको छ ।
‘के गर्ने भन्ने विषय अब मन्त्रिपरिषदमा पुगेको छ, तत्काल निकास आउनेछ,’ ती नेताले भने ।

प्रकाशित मिति : September 27, 2021 at 2:46 pm