सर्वोच्चकाे लिखित जवाफः प्रधानन्यायाधीशविनाको संवैधानिक इजलास बस्न सक्दैन
४ असाेज, काठमाडाैँ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहनै पर्ने मागसहित परेको रिटमा सर्वोच्च अदालतले लिखित जवाफ पेश गरेको छ ।
कुनै पनि मुद्दाको सुनुवाइ गर्ने क्रममा कुनै न्यायाधीशले रेक्युजल गर्ने (इजलास छाड्ने) वा नगर्ने भन्ने कुरा विवादको सुनुवाइ गर्ने न्यायाधीश र इजलासको तजबिजी अधिकार भएको भन्ने विगतको नजिरसमेत उल्लेख गर्दै सर्वोच्चले रिट निवेदन नै खारेज गर्नुपर्ने जिकिर गरेको छ ।
अधिवक्ता डा. गणेश रेग्मीले दायर गरेको रिटमा सर्वोच्चका तर्फबाट रजिस्ट्रार नारायणप्रसाद पन्थीले लिखित जवाफ पेश गरेका हुन् ।

निवेदकले संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा वृहत् पूर्ण इजलासबाट सुनुवाइ गर्न माग गरेकोमा त्यसको प्रतिवाद गर्दै लिखित जवाफमा भनिएको छ– संविधानले नै संवैधानिक इजलासबाट निरुपण हुने भनी तोकेका मुद्दा एवं निवेदन वृहत् पूर्ण इजलासबाट निरुपण हुनसक्ने अवस्था हुँदैन ।
संवैधानिक नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ हुने संवैधानिक इजलासमा नबस्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निर्णयविरुद्ध अधिवक्ता डा. गणेश रेग्मीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले सर्वोच्चसहित विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।
प्रकाशित मिति : September 20, 2021 at 6:46 pm





