२१ असार २०८१, शुक्रबार | Sat Jul 6 2024

न्युजिल्यान्डमा खोप लगाएकी महिलाको मृत्युबारे फाइजरले अनुसन्धान गर्ने


१४ भदौ, एजेन्सी । न्युजिल्यान्डमा कोरोनाबिरुद्व फाइजर खोप लगाएकी एक महिलाको मृत्यु भएको छ । न्युजिल्यान्डमा खोप लगाएपछि मृत्यु भएको यो पहिलो घटना हो । फाइजर खोपका कारण महिलाको मृत्यु भएको खोप सुरक्षाबारे अनुगमन गरिरहेको एउटा बोर्डले जनाएको छ ।

कोभिड–१९ खोप स्वतन्त्र सुरक्षा अनुगमन बोर्डले खोपकै कारण महिलाको मृत्यु भएको पुष्टि गरेको छ । ‘देशमा खोपका कारण मृत्यु भएको यो पहिलो पटक हो,’ बोर्डले एक विज्ञप्तिमा भनेको छ । खोप लगाएकी महिलाको मृत्युबारे फाइजरले पनि अनुसन्धान गर्ने भएको छ ।

मृतक महिलाबारे थप विवरण सार्वजनिक गरिएको छैन। युरोपेली मेडिकल निकायका अनुसार युवामा खोपको साइड इफेक्ट बढी देखिन्छ । न्युजिल्यान्डले एक साताअघि सर्वसाधारणलाई ढुक्कसँग फाइजर खोप प्रयोग गर्न अनुरोध गरेको थियो ।

अमेरिकाको जोन हप्किन्स युनिर्भसिटीअनुसार न्युजिल्याण्डमा अहिलेसम्म तीन हजार चार सय ६५ जनामा कोभिड संक्रमण देखिएको र २६ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म २३ प्रतिशतले खोप लिइसकेका छन् । केही समयअघि डेल्टा भेरियन्ट देखिएपछि मुलुकका केही भागमा लकडाउन गरिएको थियो । ५० लाख जनसंख्या भएको न्युजिल्यान्डमा अहिले पाँच सय ६० सक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार ११:५२