२ असार २०८१, आईतवार | Sun Jun 16 2024

जाजरकोटवासीकाे त्रिपालमा बास


१० भदौ, जाजरकोट । साउन १६ जाजरकोटको नलगाड नगरपालिका–३ बाँसकोटीका ४६ वर्षीय खम्बबहादुर रोकायको घर पहिरोले बगायो । उनको ६ जनाको परिवार अहिले छिमेकी प्रेमबहादुर बुढाको घरमा बसेका छन । त्यसैगरी साउन ३१ गते नलगाड–४ कोठीगाउँका भीमबहादुर डाँगीको एक घर पहिरोले पुरिदियो भने अर्काे घर जोखिमा परेको छ । पाँचजनाको परिवार त्रिपाल टाँगेर खुलाचौरमा बसेको डाँगीले बताए । अहिलेसम्म कतैबाट राहत नपाएको डाँगीले गुनासो गरे ।

पहिरोको कारण बाँसकोटीका गोरख कामी, गोरख विक, प्रताप घर्ती, टकबहादुर पुन, ज्ञानबहादुर कामी, पानबहादुर थापालगायत एक दर्जन घर जोखिममा परेका छन । गाउँमाथिबाट पहिरो खसेर घरमा क्षतिमात्र गरेन पाखो तथा खेतमा लगाएको धान र मकै, फलफूलका विरुवासमेत नष्ट गरेको छ । वातावरणीय प्रभाव मुल्यांकन तथा अध्ययन बिना नै जथाभावी सडक खन्नुले पहिरोको जोखिम बढेको स्थानीय भुवन केसीको भनाइ छ ।

कैना बाँसकोटी, कट्के, किटेनी, कालिमाटी घुवारा, औल सीमा कोठीगाउँ जोड्ने सडक जथाभावी खन्ने काम गर्दा पहिरोको जोखिम बढेको छ । विकासले उल्टै विनास निम्त्याएको छ । नलगाड नगरपालिकाले जथाभावी सडक निर्माण गर्दा पहिरोको जोखिम बढेको छ । जिल्लामा स्थानीय तहले वातावरणीय प्रभाव मुल्यांकन तथा अध्ययन बिना नै जथाभावी डोजर लगाएर सडक निर्माण गर्दा सबैतिर बाढी पहिरोको जोखिममा रहेको छ ।

जाजरकोटमा जथाभावी रुपमा मोटरबाटो खन्ने कार्य गर्दा पहिरोका जोखिम बढेको छ । जाजरकोटको खलंगा पाँचकाटीया, कालिमाटी बारेकोट, छेडा थलह, थलह सानाखोला जुनीचाँदे, थलह बाटुल्ले टापुचौर, पाँचकाटीया पैक, पाँचकाटीया कुशे भार्मा, कालिमाटी कैना, कालिमाटी खन्टाकुरा सिर्के लगाएत दर्जन बढी ग्रामीन सडक असार पहिलो सातादेखि सडकमा यातायात सेवा अवरुद्ध भएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार १७:०५