१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

जनैबाटै नै प्रादुर्भाव भएकाे हाे टेलिफाेन


-प्रकाश आस्था

फुस्रा धर्मछाडा र डलरेहरूले जति सुकै विराेध गरून्, जनै विशुद्ध वैज्ञानिक आविस्कार हाे। वैदिक विधीले मन्त्रणा गरिने याे जनैलाई मान्छेले मात्रै हाेइन, पशुपंक्षीले समेत नसा र आन्द्राका रूपमा प्राकृतिक रूपमै धारण गरेका छन्। लहराबेहरा र लाैका र फर्सीका झालहरू पनि प्राकृतिक जनै नै हुन्।

जनैले हाम्रा शरीरभित्रका नशा र आन्द्राकाे प्रतिनिधित्व गर्दछ। काे छ‌ैन याे भूतलमा नशा र आन्द्रा नभएकाे? साेही कारण हाेला, कलियुगकाे प्रारम्भिक कालमा जनैपूर्णिमाकाे दिन नेपालखण्डका मनुवाहरू नसान्द्रासहितकाे सुस्वादु क्वाँटी सेवन गर्न थालेका छन्।

कतुवामा धागाे बेर्दै फ्वाईँफ्वाईँ घुमाएर अनेक खालका शिखासहितका जनैकाे निर्माण गरिन्छ। जनैका पनि जात र दर्जा हुन्छन्: बाहुन जनै, अलिकम बाहुन जनै, थाेरै कम बाहुन जनै, धेरै कम बाहुन जनै, एकदमै कम बाहुन जनै र गैरबाहुन जनै। उहिले गाई-बाख्रागाेठालाे जाँदा रूखका हाँगामा बसी तल कतुवा झुण्ड्याई फुईँफुईँ पारिने चलन थियाे। अचेल म्लेच्छहरूले बनाएका आधुनिक यन्त्रमार्फत पनि जनै बनाइने गरेकाे छ।

टेलिफाेन निर्माणमा पनि जनैकाे भयंकर भूमिका छ। खासमा उहिले ग्राहम बेल नामक म्लेच्छ मनुवा भारतवर्ष घुम्न आरछन्। एक उच्च जातका ब्राम्हण लाेटा अगाडी राखेर कानमा जनेउ हालिकन पाेखरीकाे डिलमा “विसर्जनासनम्” मा व्यस्त रहेछन्। बेल नामक खैराे मनुवा त्याे दृश्य देखेर अचम्भित भएछन् र ती ब्राम्हणसँग ‘तिमीले कानमा पहिरेकाे जिनिस के हाे ?’ भनी साेधेछन्।

ब्राम्हणले ‘देवलाेकका देवतासँग सिधै सम्पर्क गर्ने यन्त्र हाे याे’ भनेर जनैकाे अर्थ लगाएछन्। त्यसपछि ग्राहम बेलले त्यस‌ै जनैलाई नै आधार मानीकन टिलिफुन यन्त्र बनाहुन्। र, उतिखेरकाे त्याे बाहुन अरू काेही नभएर दक्षिणदेशका हिन्दू सम्राटका जिजुबा श्री लम्बाेदरनाथ माेदी हुन्। टेलिफाेन यन्त्रकाे पहिलाे नमुना मानिने त्यस “जनेउ”लाई छिटै नै संग्रहालयमा विशेष सुरक्षाका साथ राखिने बताइएकाे छ।

र, आजका सबै तारजडित यन्त्रहरू जनै-विज्ञानमै आधारित छन् । यज्ञाेपवित समेत भनिइने याे विशुद्ध वैज्ञानिक यन्त्रका अनेकाैँ फाइदा अनेक छन् । जसरी रत्नपार्कतिर चिच्याएर बेचिने जडिबुटी ओखतीले दुनियाँका सबै राेग चट् पार्छ, जनैले पनि शरीरमा हुने सब‌ै राेगकाे दाेहाेलाे पार्ने कुराे “रक्षाबन्धन शास्त्र”काे “कतुवा महिमा”मा उल्लेख छ। सुरुवाल र जाँघेकाे इँजार हराउँदा विकल्पमा प्रयाेग गर्न सकिने भएकाले यस वैदिक यन्त्रकाे नाम “आकस्मिक असहजता निराेधक सर्दाम”समेत भनिने जनैविज्ञहरू बताउँछन् । नुहाउँदा ढाड कन्याउन मिल्ने भएकाले यसलाई कतिपय जानकार “स्नानसहायक साधन” समेत भन्दछन्।

हजार जिभ्रा भएका शेषनागले वर्णन गर्न नसक्ने यति बहुगुणी सर्दामकाे प्रयाेग अचेल घट्न थालेकाले धर्माधीकारीहरू चिन्तित छन्। जनै लगाउने दिनलाई “रक्स्याहा बन्धन” भनेर अधर्मी, धर्मछाडा र नास्तिकहरूले उल्याए पनि तिनै कतिपय युवकहरू डुङ्डुङ्ती मुखै लिएरै भएपनि रक्षाबन्भनका दिन मन्दिरतिर पुगी “लाै त बाजे, ओर्जिनल जनै दिनुस्” भनेर पुराेहितहरूसँग बिन्ती गरेकाे दृश्य समेत देखिन्छ। जनैकाे भविष्यकाे बारेमा चिन्ता गर्नेलाई याेचाहिँ सुखद संकेत नै हाे।

अचेल बजारमा उत्तरी छिमेकी देशबाट समेत जनै आयात हुन थालेकाे छ। हाम्राेमा जस्तै उमुनुमुनु भन्दै विशुद्ध बाहुनहरूले नै उक्त जनै मन्तरेका हुँदा हुन् त! हाेइन, चीनबाट आयात गरिने जनैचाहिँ चीनियाँ ब्राम्हणहरूले मन्तरेका हुन्छन् । उनीहरूकाे “झ्याङझ्याङझिङझिङ चिङ्चुङचाङचाङ” मन्तरकाे जनैकाे वैदिक मूल्यप्रति शंका बढ्नाले र जनैकाे मन्तर भाषा बुझ्न देवलाेकका इश्वरलाई समेत कठिन हुने हुँदा हामीले भने पवित्र चन्द्रलाेकबाटै विशेष वैदिक यानमार्फत जनै आयात गर्ने व्यवस्था गरेका छाैं। चन्द्रलाेक यानकि देवलाेकबाटै सिधै प्राप्त जनैमा सबै गुण हुने कुरामा सन्देह रहेन। जनैकाे भण्डार सिमित रहेकाले छिट्टै सम्पर्क गर्नुहाेला। नत्र पुण्यकर्मकाे याे महान माैका छुट्न सक्छ। हाेलसेलमा जनै उठाउनेलाई विशेष छुटकाे व्यवस्थासमेत गरिएकाे छ।

(प्रकाश आस्थाले सामाजिक सञ्जालमा राखेको यस विचार सान्दर्भिक भएकाले यहाँ साभार गरिएको हो ।-सम्पादक)

प्रकाशित मिति : ६ भाद्र २०७८, आईतवार ०९:४९

https://srdb.com.np/