३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

माधव समूहको पाँच महिनाभित्र माओवादीसँग एकीकरण हुन्छः नेता चौधरी

५ भदाै, काठमाडाैँ । माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिईएको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले केपी ओलीले एमालेलाई विसर्जनको बाटोमा लगेको कारण आफूहरु बाध्य भएर नयाँ दल दर्ता गर्न पुगेको स्पष्ट पारेका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने कसम र किरिया खाएकोले यो अवस्था आएको आरोप लगाएका छन् । ओलीको कारण एमाले विसर्जनको बाटोमा गएकोले आफूहरुले बाध्य भएर पूनर्गठन गरेको उनको भनाई छ ।

उनले आफुहरुले एमालेको एकता र सग्लो एमालेको लागि हदैसम्मको प्रयास गरेको तर ओलीले एकता नचाहेको कारण आजको परिस्थिति उत्पन्न भएको बताए । उनले भने,‘हामीले त एकताको लागि त्याग र तपस्या गरेका हौं, तर केपी ओलीले एमालेलाई विखण्डन गरिछाड्ने कसम खाएकोले एकता सम्भव भएन । अहिले हामी पनि नेकपा (एकीकृत समाजवादी) गठनको प्रक्रियामा छौं । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छौं । भदौ ९ गते सनाखतको लागि आयोगले बोलाएको छ ।’ उनले आफूहरु एमालेको पूनर्गठनमा लागेर नयाँ दल खोल्नुको कारण एमाले र माओवादी मिलेर प्राप्त गरेको ४७ लाख भोट जोगाउनु रहेको पनि जिकिर गरे । उनले भने,‘हामीले नयाँ दल दर्ता नगरेको भए सबै भोट विसर्जन हुने थियो । कम्युनिष्ट आन्दोलन र पार्टी ध्वस्त हुने पोजिसनमा पुग्नेथियो ।’

चौधरीले अब केपी ओली र नेमकिपाका नारायणमान बिजुक्छेबाहेकको बृहत्त कम्युनिष्ट पार्टी बन्ने र उक्त समाजवादी पार्टीको नेतृत्व माधव नेपालले गर्ने पनि खुलासा गरे । उनले भने,‘अब केपी ओली र नारायणमान बिजुक्छेबाहेकको बृहत्त कम्युनिष्ट पार्टी बनाउँछौं । यसमा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका उपेन्द्र यादवलगायत सबै हुनुहुन्छ ।’ उनले आफूहरु र केपी ओलीपनि सँगै रहँदापनि नेकपा (एमाले) समाप्त हुने स्थिति रहेकोले नयाँ दल दर्ता गरेको स्पष्ट पारे । उनले बढीमा पाँच महिनामा माओवादीसँग एकीकरण हुने बताए ।

प्रकाशित मिति : August 21, 2021 at 10:05 pm