२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाएपछि सरकारको धारणा सार्वजनिक हुन्छः गृहमन्त्री खाँण

१८ साउन, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट महाकाली नदीपार गर्ने क्रममा जयसिंह धामी नदीमा खसेका भन्ने घटनाको छानबिन गरी सत्यतथ्य पत्तालगाई सार्वजनिक गर्ने बताए । राष्ट्रियसभाको आजको बैठकमा उनले उक्त घटनाको स्थलगत अध्ययन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिका पदाधिकारी घटनास्थलतर्फ प्रस्थान गरिसकेको जानकारी दिए ।

दार्चुलामा भएको घटना गम्भीर, दुखद् र सम्वेदनशील रहेको बताउँदै गृहमन्त्री खाणले भने, “जयसिंहसँगै यात्रामा रहेका अन्यसँग सोधपुछ्को कार्य भइरहेको, नदीमा खसेका र नभेटिएका हुनाले नेपाल–भारत दुवैका सुरक्षाकर्मीबाट खोजतलास भइरहेको छ ।

उनले दार्चुला घटनाका सम्बन्धमा व्यक्त विचार, सूचना र धारणालाई गम्भीरतापूर्वक लिने र घटनाको सत्यतथ्य आएपछि सरकारले आफ्नो धारणा सार्वजनिक गर्ने जानकारी दिए । नेपालका केही नदीमा वारपार तर्नका लागि अहिले पनि तुइनको प्रयोग भइरहेको जानकारी दिँदै गृहमन्त्री खाणले महाकालीमा चार वटा तुइन विस्थापित गरी झोलुङ्गेले पुल निर्माण कार्य अघि बढिरहेको बताए ।

स्थानीय व्यास गाउँपालिकाबाट खलङ्गा जाने क्रममा यात्रालाई छोटो बनाउन धामीले तुइनको प्रयोग गरेको बताइएको छ । धामी महाकाली नदीमा खसेको सूचनापछि स्थानीय प्रशासन र सुरक्षाकर्मीबाट वास्तविक छानबिनका लागि स्थलगत अनुसन्धान गरेको थियो । महाकाली नदीमा खसेर हराइरहेका धामीको खोजीका लागि त्यस क्षेत्रका नौ र पाँच वटा प्रहरी वेशलाई परिचालन गरिएको जानकारी दिइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार १६:४९