२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

पूर्वयुवराज पारसले प्रहरीलाई यसरी थर्काए (भिडियाेसहित)

१५ साउन, काठमाडाैँ । पूर्वयुवराज पारस शाहले प्रहरीमाथि अभद्र व्यवहार गरेका छन्। शाहले शुक्रबार साँझ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा प्रहरीलाई अभद्र व्यवहार गरेका हुन्। हेल्मेट नलगाई मोटरसाइकलमा सवार शाहलाई प्रहरीले समातेको थियो।

पारसले प्रहरीलाई धम्कीपूर्ण शैलीमा छोड्न भनिरहेको सार्वजनिक भएको भिडिओमा सुन्न सकिन्छ। शाह समर्थकसहित देखिएका थिए। भिडिओमा एक जना प्रहरीले पारसको हात समातेर कतै लैजान खोजेको देखिन्छ। तर, उनले धकेल्दै र हात तान्दै ‘जान्न’ भनिरहेका थिए।

पूर्वयुवराज शाह अधिकांश ठाउँमा उनले चलाउने गरेको मोटरसाइकलमा हेल्मेटबेगरै देखिने गरेका छन्। उनले त्यहाँ पनि आफूले कहिल्यै हेल्मेट लगाएको देखेको छ? कहीँ रोकेको छ मलाई? भनेका थिए।

उनको हात अँठ्याएका प्रहरीले माथिल्लो निकायमा वाकीटकीमा खबर गरिरहेको भिडिओमा देख्न सकिन्छ। वाकीटकीमा कुरा गर्दा प्रहरीले नशामा रहेको व्यक्तिलाई नियन्त्रणमा लिनुपर्ने र गाडी पठाउन जाहेर गरिरहेका देखिन्छन्। शाहले भने आफूले ‘ड्रिङ्स गरेको छैन’ भनिरहेका थिए। वादविवादकै क्रममा प्रहरीले छोडेपछि पारस मोटरसाइकलमा हेल्मेटबेगरै हुइँकिएका थिए।

भिडियो : सञ्चारकर्मी गणेश बुढा

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार २२:२६