२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एकमाथि अर्को सर्त थपेर पार्टी एकता बिथोल्ने प्रयास भयाेः महासचिव पोखरेल

१५ साउन, काठमाडौँ । एमाले महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि आइरहेका अनेक खालका प्रस्ताव अस्वीकार्य रहने बताएका छन् । शुक्रबार पार्टी मुख्यालयमा पत्रकारसँग कुरा गर्दै पोखरेलले पार्टी एकताका लागि अध्यक्ष केपी ओली हदैसम्म लचक हुनुभएको बताउदै अर्को पक्षबाट एकमाथि अर्को सर्त थपेर बिथोल्ने प्रयासमा रहिरहेको बताए ।

उनले अब त्यस्ता प्रस्तावमा अलमलिएर बस्ने अवस्था नरहेको बताउदै विधान विपरितका कुनैपनि प्रस्ताव मान्य नहुने बताए । उनले भने, ‘विधानका कुरा गर्ने तर एकपछि अर्को प्रस्ताव ल्याउँदा तिनलाई स्वीकारेर जाने अवस्था हुँदैन। धेरै पर्खने कुरा भएन। पार्टीलाई धेरै बेर पर्खाएर अन्योलपूर्ण बनाएर राखिन्न ।’ देशभरका कार्यकर्ताको भावना चाँडै निष्कर्ष निकालियोस् भन्ने रहेकाले सोहीअनुसार पार्टी अघि बढ्ने पोखरेलको भनाइ छ। उनले पार्टीमा माग र प्रस्ताव विधिसम्मत एवम् संस्थागत पद्धतिगत रूपमा आउनुपर्ने पनि बताए ।

पोखरेलले भने, ‘अधिकतम कोशिष गर्ने नाममा यो अनिश्चिततालाई अनन्तकालसम्म लम्ब्याउनु हुँदैन ।’  दस बुँदे सहमति नेताहरूकै सल्लाहअनुसार भए पनि त्यसप्रति अनेक खालका प्रस्ताव सार्वजनिक गरेर पार्टी एकतालाई निष्कर्षमा पुग्न नदिइने प्रयास भइरहेको छ । कार्यदलको प्रस्ताव नै पार्टीको स्थायी कमिटि र केन्द्रीय कमिटिले ग्रहण गरेकाले त्यही अनुरुप मात्र पार्टी अगाडी बढ्ने उनले बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार १६:५०