१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

एमसीसीसँग जोडिएका सबै सम्झौता संसदमा पेश हाेस्ः भीम रावल

१५ साउन, काठमाडौँ । नेकपा एमालेका सांसद भीम रावलले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेश गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रावलले एमसीसी पास गर्न भएका सबै सम्झौता सार्वजनिक गर्न माग गरेका छन् ।

‘एमसिसीको मूल सम्झौता मात्रै यहाँ पेश भएको छ, सँगसँगै थुप्रै गोप्य सम्झौता भएका छन् ति सबै सार्वजनिक गरियोस्।’ रावलले भने । ‘त्यो जनताले थाहा पाउनुपर्छ । एमसीसीमा रहेको देशहितविपरीतका प्रावधान नसच्याइ अनुमोदन गरिए त्यो राष्ट्रघात हुनेछ ।’

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गठन गरेको कार्यदलमा रहँदा एमसिसीसँग जोडिएका थुप्रै सम्झौता हेरेको भन्दै रावलले कार्यान्वयन सम्बन्धी सम्झौता हुन नपाएको बताए।यसअघि भएका असमान सन्धी सम्झौताले अहिलेसम्म नेपालीहरु पीडित हुनुपरेको भन्दै रावलले राष्ट्रहित विपरीतका प्रावधान संशोधन नगरी एमसीसी पास गर्न नहुने बताए ।

“एमसिसीमा उल्लेख भएका कुरा नेपालको संविधानसँग बाझिने खालका छन्, राष्ट्र हितमा छैन ।” उपाध्यक्ष डा रावलले एमसिसीको नाममा आफ्नो भूमि कुनै पनि कम्पनीलाई सुम्पिन नसक्ने जिकिर गरे । उनले कुनै पनि देशसित कूटनीतिक सम्बन्ध बलियो बनाउनुपर्ने तर सन्धि गर्दा देशको हितमा छ, छैन भन्ने कुराको ख्याल गर्नुपर्नेमा जोड दिए । उनले सबै सांसदले एमसिसीको अध्ययन गर्न पाउनुपर्ने धारणा पनि व्यक्त गरे ।

रावलले देशको हितलाई शर्तका रुपमा राखेर मुलुकको स्रोतको सदुपयोग गर्नेतर्फ लाग्नुपर्नेमा ध्यानाकर्षण गराए । देशको स्वाधीनता र अस्मितालाई खतरामा पार्न नहुने उल्लेख गर्दै उनले एमसिसी पारित भए बाह्य हस्तक्षेप बढ्ने जिकिर पनि गरे । “अनुदान हो भने त्यो कुरा स्पष्ट पार्नुपर्छ”, उनले भने ।

प्रकाशित मिति : July 30, 2021 at 2:27 pm