महन्थ ठाकुरले दायर गरेको रिटको सुनुवाई न्यायाधीशद्वय खतिवडा र चुडालको इजलासमा
१५ साउन, काठमाडौँ । जनता समाजवादी पार्टीका पूर्वअध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । ठाकुरले दायर गरेको रिट निवेदनमा आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुने लागेकाे हाे ।
निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकतासम्बन्धी विवाद केन्द्रीय कार्यकारिणी समितिको बहुमतबाट छिनोफानो गर्ने प्रक्रिया अघि बढाएपछि उक्त प्रक्रियालाई नै रोक्न माग गर्दै ठाकुर पक्षले ८ साउनमा सर्वोच्चमा रिट हालेका थिए ।
आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको बहुमतका आधारमा पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिइसकेको छ ।
रिट निवेदनमा ठाकुरले कार्यकारिणी समितिकै विवाद निरूपण नगरी निर्वाचन आयोगले सिधै बहुमत र अल्पमतको परीक्षण गर्न थालेको भन्दै त्यसलाई रोक्नसमेत माग गरेका थिए ।
प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार १२:०३