१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

छिमेकी देशसँगको सम्बन्धलाई कमजोर बनाउन खोजियो भने युथफोर्स अगाडि बढ्छः महासचिव पोखरेल

९ साउन, काठमाडाैँ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधानको रक्षा, कानूनको पालना, शान्तिपूर्वक प्रतिस्पर्धाको राजनीतिमा जोड दिने बताएका छन । राष्ट्रिय युवा सङ्घको युथफोर्स काठमाडौँ उपत्यका कमाण्ड घोषणा तथा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले संविधानको रक्षा, कानूनको पालना र प्रतिस्पर्धाको राजनीतिलाई कमजोर बनाउनेसँग पार्टीले सम्झौता नगर्ने बताए ।

उनले शान्तिपूर्व राजनीतिक प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भएकाले त्यसविरुद्ध जान नसकिने धारणा राखे । “शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाको विरुद्ध कोही जान्छ भने त्यसलाई कामजोर बनाउन र संवैधानिक प्रक्रियालाई अवरोध गराउन खोज्दछन् भने हाम्रो युथफोर्सले त्यसविरुद्धमा खबरदारी गर्नेछ”, उनले भने । हिजोका सरकारले गरेका राम्रा कामलाई ध्वस्त बनाउन खोजियो भने छिमेकी देशसँगको सम्बन्धलाई कमजोर बनाउन खोजियो भने त्यसविरुद्ध पार्टीसँगै युथफोर्स अगाडि बढ्ने उहाँको भनाइ छ ।

युथफोर्स कानून र राज्यको संरचनालाई तोडमोड र जनताका जनादेशलाई लत्याउन खोजिए त्यो सह्य नभएको बताउनुभयो । उहाँले एमालेको रक्षा गर्ने खम्बाका रूपमा युथफोर्स रहेको भन्दै कहीँकतै असुरक्षित र त्रास फैलाइएको वा नेता कार्यकर्तामाथि हमला गरिन्छ भने त्यसको प्रतिवाद युथफोर्सले गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “उत्पादनका कुरा, जनतालाई उत्पादन काममा सहयोग र रोजगारीका पक्षमा अभियान चलाउनु पर्दछ ।”

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले युथफोर्स भ्रष्टाचार र अनियमितताविरुद्ध रहेको बताउनुभयो । “सरकारका राम्रो काममा हामी सहकार्य गर्न तयार छौँ”, उहाँले भन्नुभयो, “पूरक बजेट ल्याउने, संविधान संशोधन गरेर मन्त्रिमण्डलको सङ्ख्या थप्नेजस्ता कुरा स्वीकार्य छैन ।” उहाँले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले पार्टी फुटाउन खोजे त्यसको प्रतिवाद गर्ने बताउनुभयो । रासस

प्रकाशित मिति : July 24, 2021 at 10:23 pm