१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

टानका अध्यक्ष दाहाल र वरिष्ठ उपाध्यक्ष सुवेदी पनि ‘फेक रेस्क्यु’मा, छानविन समितिले काट्यो पत्र

–दुर्गा पुडासैनी
३० असार, काठमाडौँ । पदयात्रा पर्यटन व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल(टान) का पदाधिकारी पनि ‘फेक रेस्क्यु’मा जोडिएका छन । टानका अध्यक्ष नवराज दाहाल र वरिष्ठ उपाध्यक्ष खुम सुवेदीको पनि ‘फेक रेस्क्यु’मा संलग्नता देखिएको छ । व्यवसायीको नेतृत्व गर्ने संस्थाका महत्वपूर्ण पदाधिकारी नै ‘फेक रेस्क्यु’मा जोडिएपछि केही दिन अघि टानले जारी गरेको विज्ञप्तिको रहस्य समेत खुलेको छ । उसले कारबाहीका नाममा व्यवसायीलाई आतंकित बनाउन नहुने विषयमा जोड दिएको थियो ।

अध्यक्ष दाहाल र वरिष्ठ उपाध्यक्ष सुवेदी यही कर्मबाट करोडपति बनेको टानका वर्तमान कार्यसमितिको एक सदस्यले बताएका छन । । विगत एक दशकदेखि दाहाल र सुवेदीले ‘फेक रेस्क्यु’को धन्दा सञ्चालन गर्दै आएका छन । उनीहरुको ‘फेक रेस्क्यु’को कर्म र अकुत सम्पत्तिको बारेमा संस्कृत पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको छानविन समितिमा उजुरी परेपछि पत्र काटेर थप अनुसन्धानको काम अघि बढाएको छ ।

टानका अध्यक्ष दाहालले सञ्चालन गरिरहेको नेपाल ईन्भाइरोमेन्टल ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिले सयौँ ‘फेक रेस्क्यु’ गरेको भनेर यसअघिदेखि नै चर्चा हुनेगरेको थियो । केही महिना अघि दैनिकीले समेत यस विषयमा समाचार प्रकाशन गरेको थियो । दाहाल टानको अध्यक्षमा निर्वाचित हुने समयमा समेत ‘फेक रेस्क्यु’को विषय प्रचारित भएको थियो तर उनी तत्कालीन नेकपा माओवादी केन्द्र हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट भएकै कारण जोगिदै आएका थिए । यद्यपी यसपटक सहसचिव घनश्याम उपाध्याय नेतृत्वको छानविन कार्यदलले दाहाललाई पनि पत्र काटेर छानविनको दायरामा ल्याउने कोशिश गरेको छ ।

त्यस्तै नेपाली कांग्रेस निकटका अर्का व्यवसायी एवम् टानका वरिष्ठ उपाध्यक्ष खुम सुवेदीको युनिक एडभेन्चर ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिले पनि सयौँ ‘फेक रेस्क्यु’ गरेको विषयमा उजुरी परेपछि छानविन समितिले पत्र काटेको छ । सुवेदीले पनि व्यसायबाट अकुत सम्पत्ति आर्जनका लागि ‘फेक रेस्क्यु’लाई साहरा बनाएको बुझिएको छ ।

यतिमात्र हैन दोस्रो चरणमा २३ व्यवसायीलाई समितिले पत्र काटेको छ तर यो कारबाही बार्गेनिङमात्र हुने अनुमान गरिएको छ । छानविन र कारबाहीका निम्ति भनेर कार्यदल गठन भएपनि कार्यविधि लगायतका अभाव रहेको भन्दै पर्यटन विभागका महानिर्देशक डुण्डुराज घिमिरे अहिलेसम्म कार्यदलको बैठकमा समेत सहभागी भएका छैनन् । उनले छानविन प्रक्रियामै असहमति जनाएका छन । हुनत घिमिरेको असन्तुष्टिलाई व्यवसायीको स्वार्थसँग जोडेर हेरिएको छ ।

सरकारले पनि घिमिरे माथि कुनै कारबाही नगर्ने र घिमिरे कार्यदलको बैठकमा सहभागी नहुनुले ‘तँ कुटेजस्तो गर, म रोएजस्तो गुर्छ’ भन्ने उखानलाई चरितार्थ गरेको छ । त्यसकारण मन्त्रालयले जुन उद्देश्यले कारबाही गर्न चाहेको थियो व्यवहारमा त्यो मेल खाएको देखिएको छैन । पछिल्लो समयमा हरेक विषयमा बार्गेनिङ गरेको र कमिसन खाएको एकमाथि अर्को आरोप लागि रहेका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले नेतृत्व गरिरहेका कारण कारबाही निष्कर्षमा नपुगे पनि अन्यथा भने हुनेछैन ।

१५ दिनमा प्रतिवेदन दिने गरी गठित कार्यदलले पूर्ण रुपमा काम गर्न नपाउँदै दुई महिनाको समय थप गरेर व्यवासायिक वातावरण खलबल्याउन खोजिएको भन्दै व्यवसायी चिन्तित बनेका छन । टानका सदस्य समेत रहेका मिडिया संयोजक गोपाल श्रेष्ठ भन्छन ‘कारबाही गर्नै पर्ने थियो सुरु भयो राम्रो भो । तर यो प्रक्रिया लम्बाएर अन्तर्राष्ट्रिय रुपमा समेत गतल सन्देश जाने अवस्था आयो भने व्यवसाय नै धराशायी नहोला भन्न सकिन्न ।’

श्रेष्ठका अनुसार खराब काम गर्नेहरुले सस्तोमा प्याकेज बेच्दा राम्रो ढंगाले व्यपार गर्नेहरुको व्यपार पनि अहिले घटेको छ भने पछिल्लो आवस्थामा नेपाल आउने पर्यटकहरुको ट्राभल विमा पनि हुन छोडेको छ । टान आफैँ अनियमितता र भ्रष्टाचारले चुर्लुम्म डुब्नु अनि पदाधिकारीका बारेमा यस्ता विषय बाहिरिनुले नेपालको समग्र पर्यटन व्यवसायमा कस्ता काम हुन्छन भन्न विषय सहजै आँकलन गर्न सकिन्छ ।

प्रकाशित मिति : ३० असार २०७५, शनिबार २०:५५