१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाका यस्ता छन १५ अनियमितता

३० असार, काठमाडौँ । संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला अनियमित तरिकाले क्यानडा जानै लाग्दा विमानस्थलबाट फर्काइएपछि चर्चाका केन्द्रमा छन । धेरैले कोइरालालाई विमानस्थलबाट फर्काएर सही काम गरेको भन्दै प्रंशशा गरेका छन भने केहीले प्राज्ञिक व्यक्तिलाई त्यसो गरेर गल्ती गरेको प्रतिक्रिया दिइरहेका छन ।

कोइरालाले क्यनडा जाँदामात्रै हैन अन्य समयमा समेत प्रचलित नियम, कानुन र परम्परालाई मिची अराजक स्थितिको सिर्जना गर्न उद्यत रहेको खुलासा हुँदै गएको छ । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन र नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले संयुक्त रुपमै उपकुलपति कोइरालाले विश्वविद्यालयलाई थप सङ्कटतर्फ धकेलेर धराशायी बनाउन उद्यत रहेको भन्दै उनका १५ कमजोरी सार्वजनिक गरेका छन ।

प्राध्यापक सङ्गठनहरूले अाैँल्याएका उपकुलपति कोइरालाका अनियमित कार्यहरू
१. मिति २०७२।०५।०६ मा नियुक्त वर्तमान उपकुलपति प्रा.डा.कुलप्रसाद कोइरालाले आफ्नो कार्यारम्भमै नेसंविका उनीपूर्वका पदाधिकारीहरूले वैशाख, ज्येष्ठ, आषाढ र श्रावण महिनामा गरेका नीतिगत निर्णयलाई खारेज गरेर नितान्त गैरकानुनी बाटोबाट आफ्नो कार्यारम्भ गरेका थिए ।

२. ने.सं.वि. ऐनको दफा ६ को उपदफा २ र नियम ३१.८ तथा ३१.९ मा व्यवस्था भएबमोजिम कार्यकारी परिषद्को गठन नगरेर उपकुलपतिले आफूखुसी नियुक्त गरी सभाबाट अनुमोदित हुनु अगावै मिति २०७२।०६।२२ र २३ गते कार्यकारी परिषद्को बैठक बसाएर आफ्नो कार्यकालको थालनी नै ऐननियमविपरीतका कामहरूबाट गरेका थिए ।

३. प्रा.डा.कुलप्रसाद कोइराला नेसंविका बारेमा खासै जानकारी राख्ने व्यक्ति होइनन् र अत्यन्त कमजोर प्राज्ञिक हैसियतका साथै लोकतान्त्रिक उदार दृष्टिकोणशून्य व्यक्ति हुन् । उनी नेपाली संस्कृति र संस्कृत भाषा÷दर्शनको मूल आदर्शअनुकूलको अनुकरणीय आचरण भएका व्यक्ति पनि होइनन् । विश्वविद्यालयलाई माया गर्ने इमान्दार व्यक्तिहरू सुरुदेखि नै उनका कामकारवाहीबाट असन्तुष्ट थिए र छन् । यो सबैले जानेको र बुझेको कुरा हो ।

४. उपकुलपति बनेयता केही स्वार्थीहरूको झुण्ड बनाई नेसंविमा विगतदेखि अस्तित्वमा रहेको सहमति र सहकार्यको संस्कृतिलाई ध्वस्त पारेर उनले सर्वसत्तावादी शैलीले विश्वविद्यालयमा भाँडभैलो मच्चाइरहेका छन् र यो क्रम पछिल्ला दिनमा झनै बढेर गएको छ ।

५. मिति २०७२।०६।१८ मा शिक्षाध्यक्षमा नियुक्त प्रा. रमेशप्रसाद ढकालको नियुक्तिपत्र प्रधानमन्त्री कार्यालयबाट उपकुलपति आफैले बुझिराखेको र मिति २०७२।०६।२९ गते मात्र उक्त पत्र शिक्षाध्यक्षलाई उपकुलपति कोइरालाको काठमाडौँस्थित निजी आवासमा बोलाई बुझाएका हुन् । यसै बीचमा शिक्षाध्यक्षसमेतको उपस्थिति र सहमतिमा सम्पादन हुनुपर्ने कामकाज तथा निर्णयहरू एकलौटी हिसाबले गरेको देखिन्छ । विश्वविद्यालयसभाका पदेन सदस्यसचिव रहने शिक्षाध्यक्षलाई कुनै सूचना नदिई मिति २०७२।०६।२४ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइराला पदमुक्त भइसकेपछिको अवस्थामा अपराह्न ४.०० बजे प्रधानमन्त्रीको निजी सचिवालय बालुवाटारमा विश्वविद्यालयसभाको आयोजना गरी एकपक्षीय हिसाबले नियुक्त कार्यकारी परिषद् सदस्यहरूको मनोनयनको अनुमोदन, प्राज्ञिक परिषद् सदस्यको मनोनयनको अनुमोदन, विश्वविद्यालयसभा सदस्यको मनोनयन र नियुक्ति, विषय समितिका अध्यक्ष तथा सदस्यहरूको नियुक्ति जस्ता कार्यहरू गरेको प्रमाण छ ।

नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन र नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका पदाधिकरी पत्रकार सम्मेलन अायोजना गरेर कोइरालाको अनियमित कार्यको जानकारी गराउँदैँ ।

६. उनले समान प्रक्रियाबाट नियुक्त भएका शिक्षाध्यक्ष तथा कुलसचिवका अधिकारहरू कुण्ठित बनाई विश्वविद्यालय ऐनको दफा १६ उपदफा १० को अपव्याख्या गरेर कुलसचिवका सम्पूर्ण सुविधा खोसी निलम्बनसमेत गरेका थिए । उनको उक्त काम गैरकानुनी स्वेच्छाचारिताको पराकाष्ठा नै थियो । ऐनको उक्त दफा र उपदफा विश्वविद्यालयमा विशिष्ट परिस्थितिको सृजना भई तत्काल आवश्यक निर्णय लिनुपर्ने परिस्थिति रहेमा र तत्काल कार्यकारी परिषद्को बैठक बस्न असम्भव भएमा मात्र बाधा अड्काउ फुकाउने प्रयोजनका लागि प्रयोगमा आउने कानुनी व्यवस्था हो । तर उनले त्यसको गलत र मनोमानी व्याख्या गरी जुनसुकै विषयमा र जुनसुकै समयमा आफ्नो विशेषाधिकार हो भन्ने धृष्टता प्रदर्शन गर्दै आएका छन् ।

७. उनले नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएयता विश्वविद्यालयका ऐन, नियम र स्थापित पद्धतिलाई कुल्चिएर एकलौटी र मनोमानी ढङ्गले विश्वविद्यालयलाई अराजकतातर्फ धकेल्दै लगेको विषयमा नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले २०७४÷०९÷०३ गते उनलाई ज्ञापनपत्र बुझाएर सचेत तुल्याएका थिए । तर यसलाई उनले कुनै महत्त्व दिएनन् ।

८. २०६२÷०६३ को जनआन्दोलनपछि विश्वविद्यालयका पदाधिकारी, डिन, कार्यकारी निर्देशक, परीक्षा नियन्त्रक, कार्यकारी परिषद्, सभा, विषय समिति तथा प्राचार्य लगायतका पदमा मनोमानी ढङ्गले नियुक्ति गरी सहमति तथा सहकार्यको मर्ममाथि नै प्रहार गर्दै आइरहेका छन् । विश्वविद्यालयअन्तर्गत सञ्चालित १४ वटा आङ्गिक विद्यापीठहरूमध्ये १३ वटा विद्यापीठको रिक्त प्राचार्य तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक पदमा विगत साढे दुई वर्षदेखि सुरुमा ३ महिनाका लागि र तत्पश्चात् अर्को व्यवस्था नभएसम्मका लागि भन्दै ऐन नियमविपरीत आफूखुसी ३ महिने नियुक्ति दिने, पुनः ३ महिना थप गर्दै जाने गैरकानुनी अभ्यास हुँदै आएको छ । प्राचार्य र अन्य नियुक्तिमा पूरा गर्नुपर्ने प्रक्रिया अवलम्बन नगरी यसरी ठाडो नियुक्ति दिने अधिकार उनलाई विश्वविद्यालयको ऐन र नियमले कतै पनि दिएको छैन ।

९. राजनीतिक पूर्वाग्रहले ग्रस्त निज उपकुलपति कुलप्रसाद कोइरालाले कक्षाभार नभएका स्थानमा आफ्ना मानिसहरू सरुवा गर्ने, विचार फरक भएकै कारणले मानवीय आधारबाट समेत औचित्यपूर्ण रहेका शिक्षक कर्मचारीको सरुवा नगरी दुःख दिने जस्ता काम गर्दै आएका छन् । विद्यार्थीभन्दा शिक्षक कर्मचारी धेरै हुँदाहुँदै पनि भानु संस्कृत विद्यापीठ तनहुँ, हरिहर संस्कृत विद्यापीठ, अर्घाखाँचीलाई समायोजन गरी पायक पर्ने स्थानमा स्थानान्तरण गर्नुपर्नेमा मनपरी ढङ्गले शिक्षक कर्मचारीको सरुवा गर्ने जस्ता गतिविधि गरेका छन् ।

१०. मिति २०७४ भाद्र १९ गते सम्पन्न विश्वविद्यालय सभामा छलफल नै नभएका विषयवस्तुलाई पछि आफूखूुसी थप गरी किर्ते कार्य गरेको कुरा सभाको माइन्युटको सक्कलबाट स्पष्ट हुन्छ । विश्वविद्यालयलाई हानि पुग्ने गरी पदोन्नतिका लागि सभामा छलफल नै नभएको विषयलाई माइन्युटमा पछि थप गर्ने जस्तो किर्ते कार्य गर्ने छुट निजलाई कसैले दिएको छैन ।

११. विश्वविद्यालयको ऐन र नियमको परिपालना गर्ने र गराउने प्रमुख कार्यकारीको पदीय दायित्व बोक्नुपर्नेमा निर्णय प्रक्रिया, नीतिनिर्माण, शैक्षिक प्रशासनिक गतिविधि सञ्चालन र विभिन्न मञ्चहरूमा अभिव्यक्ति दिँदा उपकुलपति जस्तो उच्च पदको प्राज्ञिक गरिमा र प्रतिष्ठाको ख्याल नगरी उनी गैरजिम्मेवार र अनुत्तरदायी ढङ्गले प्रस्तुत हुने गरेका छन् ।

१२. विश्वविद्यालयको दीक्षान्त समारोह आयोजना गर्ने भने पनि पछिल्ला दिनमा उनले यतातिर कुनै चासो देखाएका छैनन् ।

१३. यसक्रममा पछिल्लो पटक उनले यही २०७५ साल जेठ २७ गते नेपाल संस्कृत विश्वविद्यालयको अर्धन्यायिक निकाय मानिने पुनरावेदन आयोगको रिक्त दुई सदस्य पदमा नेपाल संस्कृत विश्वविद्यालय ऐन २०४३ (संशोधनसहित) र नेपाल संस्कृत विश्वविद्यालय सेवा सर्तसम्बन्धी नियम २०६७ (२०७० भाद्रसम्मको संशोधनसहित) विपरीत ऐननियमले खोजे अनुसारको योग्यता नपुगेका व्यक्तिहरूलाई तीन महिना अवधिका लागि नियुक्त गरेका छन् ।

१४. विश्वविद्यालयको वेबसाइट र सूचनालाई अनधिकृत व्यक्तिको पहुँचमा पुर्याई निरन्तर राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा दुरुपयोग गरेको पनि पाइएको छ ।

१५. अहिले क्यानडामा भैरहेको विश्व संस्कृत सम्मेलनमा संस्कृत विषयका विद्वान् १–२ जना सहभागी गराउनु उपयुक्त भए पनि निज उपकुलपतिले लेखा अधिकृत, प्रशासन अधिकृत, नेपालीका शिक्षक, बौद्घ दर्शनका शिक्षक, तन्त्र विषयका शिक्षक र केहीका श्रीमती गरी १८ जनाका नाममा निमन्त्रणा पत्र अनधिकृत रूपले मगाई सो सम्मेलनमा सहभागी पठाउन प्रयत्न गरेको कुरा सार्वजनिक भैसकेको छ । शिक्षाध्यक्ष कार्यालयबाट पत्राचार हुने व्यवस्थालाई कुल्चिएर विश्वविद्यालयको छाप र लोगो अनुसन्धान केन्द्रका प्रमुखलाई प्रयोग गर्न दिई विश्वविद्यालयको छाप र लोगो प्रयोगमा समेत पदीय दुरुपयोग गरेको देखिएको छ । उनले स्वदेश वा विदेशमा भ्रमण गर्दा विना कार्यक्रम मनमौजी ढङ्गले नितान्त वैयक्तिक घुमफिर र मनोरञ्जनलाई मात्र ध्यान दिँदै अाएका छन ।

प्रकाशित मिति : ३० असार २०७५, शनिबार १३:४५