२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

कमैया मुक्ति घोषणाको २१ वर्ष पूरा, अझै गरिबीको जन्जिर तोड्न सकिएनः शान्ता चाैधरी

२ साउन, काठमाडौँ । कमैया मुक्ति घोषणा भएको २१ वर्ष पूरा भएको छ । योबीचमा धेरै परिवर्तनहरू पनि भएका छन । यद्यपी गरिबीको जन्जिर तोड्न सकिएको छैन । यही विषयमा कमलरी आन्दोलनबाट राजनीतिमा स्थापित हुनुभएकी नेकपा एमालेकी नेतृ एवं सचेतक शान्ता चौधरीले कमैया कुप्रथाको जन्जिर तोडियो पनि गरिबीको जन्जिर तोड्न नसकिएकोमा चिन्ता प्रकट गरेकी छिन । उनले यसविषयमा एउटा छोटो अपिल समेत गरेकी छिन । चौधरीको अपल यस्तो छ ।

आज कमैया मुक्ति घोषणा भएको २१ वर्ष भएछ । यो २१ वर्ष बीचमा देशमा धेरै परिवर्तन भए । मुख्य कुरा गणतन्त्र आयो, नयाँ समावेसी संविधान बन्यो । देशले नयाँ उचाई लिएको छ । कमैया मुक्ति एक महान घटना थियो । आजको युगमा मानिसलाई दास बनाउने प्रथा कायम रहन सम्भव थिएन । दासताको जन्जिर तोडिने नै थियो । त्यो जन्जिर २०५७ साल साउन २ गते औपचारिक रुपमा तोडियो ।

खासगरी थारु समुदाय पीडित थियो कमैया कुप्रथाबाट । कमैया कुप्रथाको जन्जिर तोडियो तर अर्काे जन्जिर तोडिएन । त्यो जन्जिर हो गरिबी । गरिबीको जन्जिर नतोडिएसम्म कुनै पनि कुप्रथा अन्त्यले पर्याप्त लाभ दिँदैन भन्ने यो २१ वर्षमा हामी सबैले अनुभव गरेका छौं ।

मुक्त भएका धेरै कमैयाहरुको पुर्नस्थापना अहिले पनि हुन सकिरहेको छैन । उनीहरुले सुनिश्चित आर्थिक जीवन पाउन सकेका छैनन् । नेकपाको वर्तमान सरकारको पाँच वर्षे कार्यकालमा मुक्त कमैयाहरु सबैको पुर्नस्थापना हुने र उनीहरुले सुनिश्चित आर्थिक जीवन पाउने आशा एवं विश्वाश हामी सबैले गरेकाथियो यो सरकारले ५ बर्ष सरकार चलाउन पाएन तर अहिले सम्म जे गर्यो त्यसमा खुशी छौ ।

कमैया मुक्ति दिवसको अवसरमा मेरो मनमा सबैभन्दा घोचिरहने प्रश्न हो गरिबी। गरिबी निवारण नै यो देशको एजेण्डा नम्बर एक हुनुपर्छ । गरिबी निवारण गर्न सकिएन भने यो देशका लाखौं मानिस अघोषित कमैया बनिरहने छन् ।
कमैया मुक्ति दिवसको अवसरमा पूर्व कमैयाहरुको दुख सुखमा म साथ रहेको घोषणा गर्दछु । त्यसैगरी गरिबीको जन्जिरले बाँधिएका लाखौं नेपालीको साथमा रहेको घोषणा गर्दछु । र, गरिबीको जन्जिर तोड्न जाति, पार्टी, क्षेत्र, लिंग लगायतका भाव र विचारहरुभन्दा माथि उठेर वर्तमान सरकारले सहयोग गर्न अपिल गर्दछु ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार १२:१०