बाढीपहिरो पीडितलाई सहयोग गर्न प्रदेश प्रमुख अनुराधा कोइरालाको आग्रह
२९ असार,भक्तपुर । प्रदेश नं. ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले भक्तपुरमा आएको बाढी, पहिरो र डुबानले भएको क्षतिबारे जानकारी लिनुभएको छ ।
आज प्रदेश नं ३ का प्रदेश सदस्य डा राजेन्द्रमान श्रेष्ठ र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसँगको भेटमा उहाँले क्षतिको अवस्थाबारे जानकारी लिनुभएको हो । उहाँले मध्यपुर थिमि क्षेत्रमा हनुमन्ते खोलामा आएको बाढीले पु¥याएको क्षति र चाँगुनारायण नगरपालिका क्षेत्रमा पहिरोका कारण मृत्यु भएकाका परिवार एवं त्यहाँको अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।
उहाँले भक्तपुरमा आएको बाढीपहिरो र डुबानका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारसँग पीडित परिवारलाई आवश्यक सहयोग गर्न आग्रहसमेत गर्नुभयो । उहाँले प्रदेश सरकारलाई क्षतिको विवरण संकलन गरी आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गर्नुभयो । पीडितका लागि पाल, झूल, लत्ताकपडा लगायतका भौतिक सामग्री आवश्यक परे व्यक्तिगत रुपमा आफू सहयोग गर्न तयार रहेको प्रदेश सदस्य डा श्रेष्ठ र नगरप्रमुख श्रेष्ठलाई उहाँले जानकारी गराउनु भएको थियो ।
प्रदेश प्रमुख कोइरालालाई प्रदेश सदस्य डा श्रेष्ठले मध्यपुरथिमि क्षेत्रमा बाढी र डुबानका कारण भएको क्षतिको अवस्थाबारे जानकारी गराउनु भएको थियो । उहाँले बाढी र डुबानका क्षेत्रका बासिन्दाको खाद्यान्न, लत्ताकपडा, विभिन्न सामग्री, पशुपक्षी र घरमा समेत क्षति भएको जानकारी गराउनु भएको थियो ।
नगर प्रमुख श्रेष्ठले यहाँको व्यापार र व्यवसायमा समेत ठूलो क्षति पुगेको बताउँदै व्यापारीले गोदाममा राखेका सामग्रीसमेत नष्ट भएको बताउनुभयो । भक्तपुरमा करोडौँ बराबरको क्षति भएको जानकारी गराउँदै केन्द्रीय तहबाट यस्ता बाढी तथा डुबानलाई रोक्न ठोस नीति लिनुपर्ने जानकारी गराउनु भएको थियो । स्थायीरुपमा यस्ता समस्या समाधान गर्नेबारे सरकारबाट चासो दिन पनि आग्रह गरिएको थियो ।
प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार २१:१०