शिक्षा मन्त्री श्रेष्ठविरूद्ध रूपाले दिइन् सर्वोच्चमा रिट
२० असार, काठमाडाैँ । जातीय भेदभाव तथा छुवाछुत कसुर आरोपमा कारबाहीको माग गर्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । तनहुँकी रुपा सुनारले आइतबार शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएकी हुन् ।
रूपाले शिक्षा मन्त्री श्रेष्ठ, सरकारी वकिल कार्यालय काठमाडौँ, महानगरीय प्रहरी वृत्त सिंहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाएर रिट दिएकी हुन्। उनको रिटमा जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुनअनुसार कारबाहीको माग गर्दै संविधान र कानुनले बर्जित जातीय भेदभाव तथा छुवाछूतजस्तो मुद्दाको अपराध अनुसन्धानलाई मन्त्री श्रेष्ठले नै प्रभावित पारेको दाबी गरिएको छ।
रूपालाई जातका आधारमा कोठा नदिएको आरोपमा बबरमहलकी सरस्वती प्रधानलाई प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो। अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय बुझाएको थियो। तर कार्यालयले थप अनुसन्धान गर्नू भन्दै प्रहरीलाई निर्देशन दिएको थियो।
घरबेटी प्रधान भने श्रीमान मुकुन्दको रोहबरमा जमानतमा छुटेकी थिइन्। त्यहीबेला शिक्षा मन्त्री श्रेष्ठ उनलाई लिन महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए। मन्त्रीले नै पीडकको पक्ष लिएर प्रहरी कार्यालय पुगेको र झण्डावाला गाडीमा हालेर घरसम्म पुर्याएको भन्दै तीव्र आलोचना भएको थियो।
प्रकाशित मिति : July 4, 2021 at 7:06 pm





