२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

२० असार, काठमाडौँ । सांग्रिला बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार ६ गतेबार बिक्री खुला गरिएको सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले बिक्री खुल्ला गरेकाे ऋणपत्रमा असार ९ गतेसम्म मात्र आवेदन दिन सकिने थियाे तर यस अवधिमा आवेदन नपरेकाेले आवेदन दिने समय थप गर्दै असार २० गतेसम्म लम्ब्याईएको थियो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० वर्ष अवधिको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नाममा ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गरेकाे हो । सोमध्ये ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ४५ करोड रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।

लगानीकर्ताले उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी आइ आर डबल बि पल्स १’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम मानिन्छन् ।

प्रकाशित मिति : २० असार २०७८, आईतवार १२:३५