५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

सब–इञ्जीनियरमाथि कार्यकक्षमै कुटपिट, वडाध्यक्ष भन्छन् कुटपिट गरेको होइन

१४ असार, जाजरकोट । शिवालय गाउँपालिकाका–७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सब–इञ्जीनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लगाइएको छ । अध्यक्ष खत्रीले विज्ञप्ति निकाल्दै राम्रोसँग काम गर्न र ‘स्टिमेट’ समेत राम्रो बनाउन आग्रह गरेको बताउनुभएको छ । उहाँले स्टिमेट गरेका अधिकांश योजना गतिलो नभएको गुनासो गरेको तर सब–इञ्जीनियर शाहीले आक्रमण गरेको भन्दै हल्ला गरेको बताउनुभयो ।

वडाध्यक्ष खत्रीले आफ्नो वडाभन्दा बाहिरको काम गर्ने गरेको तर वडाका कामकाजमा ध्यान नदिएको र ढिलासुस्ती गरेको भन्दै वडा कार्यलयको प्राविधिक कार्यकक्षमै कुटपिट गर्नुका साथै गालीगलौज गरेर ज्यान लिने धम्कीसमेत दिएको शाहीले आरोप लगाउनुभएको छ । शाहीको मुखमा समेत चोट लागेको बताइएको छ ।

“म आफ्नै कार्यकक्षमा काम गरिरहेको थिएँ, केही केटासहित एक्कासि वडाध्यक्ष आएर झम्टिहाल्नु भयो । मुक्का प्रहार गर्नुभयो, लछारपछार गर्नुभयो । गालीगलौजका साथै ज्यानै लिने धम्की दिनुभयो । त्यसपछि भागेर ज्यान जोगाएँ’, शाहीले टेलिफोनमा भन्नुभयो । खत्री एमालेबाट निर्वाचित वडाध्यक्ष हुनुहुन्छ ।

सब–इञ्जीनियरमाथि भएको घटनाको शिवालयमा कार्यरत कर्मचारीले निन्दा एवं भत्र्सना गरेका छन् । घटनाको विरोधमा गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित सम्पूर्ण कर्मचारीले एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारवाही नभएसम्म ‘पेनडाउन’ गर्ने निर्णय गरेका छन् ।

“राष्ट्र सेवामा कटिबद्ध कर्मचारीलाई कारणवश कमजोरी वा गल्ती गरेमा विभिन्न विभागीय कारवाही तथा सेवाबाट बर्खास्त गर्ने कानूनी बाटो हुँदाहुँदै मरणासन्न हुने गरी कार्यालय समयमा यसरी अमानवीय तरिकाले गरेको कुकर्मले हामी सेवामा अहोरात्र खटिएका सबै कर्मचारीको मनोबल खस्केको छ । सो कार्यप्रति हामी पेनडाउन गरी सशक्त आन्दोलनमा उत्रिन बाध्य छौँ”, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : June 28, 2021 at 10:25 am