४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम भएको रेल सञ्चालनमा


१० असार, काठमाडाैँ । बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालन भएको छ । बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाएका भूतपूर्व गोर्खा सैनिक पुनको नाम अङ्कित रेल सञ्चालनमा ल्याएको हो । गतवर्ष नै बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले यसको घोषणा गरेको थियो । बुधबार बिहान ग्रेट वेस्टर्न रेलवेले आयोजना गरेको नामाकरण समारोहमा पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले सो सेवाको शुभारम्भ गरेका हुन् ।

लण्डनको प्याडिङ्टन रेलवे स्टेशनमा बुधबार बिहान एक समारोहबीच रेलवे सञ्चालक ग्रेट वेस्टर्न रेलवेले भिसी पुनको नाममा एक रेल सेवाको नामकरण गरी सञ्चालन गरेको हो । बिहान १० बजे शुरु भएको उक्त समारोहमा लामो समयदेखि भूपू गोरखा सैनिकका हक हितका लागि सङ्घर्षरत बेलायतकी चर्चित नायिका जोअना लुम्ले पनि सहभागी थिइन् । कार्यक्रममा भिसी पुनका सुपुत्र अर्जुन तिलिजा र छोरी मेघकुमारी पुनसहित केही नेपाली उपस्थित रहेका थिए ।

ग्रेट वेस्टर्न रेलवे सेवाकी मानव संशाधन निर्देशक रुथ बस्बीले ग्रेट वेस्टर्न रेलवेले समुदायको पहिचान, स्वामित्व र सहयोगका लागि लामो समयदेखि रेलको नाम विभिन्न व्यक्तिका नाममा गरिरहेको बताइन् । पुनको परिवारका तर्फबाट गोर्खा ब्रिगेड एसोसिएसनका सचिव मणि राईले ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद दिए । भिसी पुनको नाम कुँदिएको रेल आजैदेखि लण्डन प्याडिङटन-ब्रिस्टोल सेवामा सन्चालन भएको छ । तस्बीरः वीनेपाली डट कम

प्रकाशित मिति : १० असार २०७८, बिहीबार ११:३७