गोविन्द केसी हत्यारा हुनः डा. अधिकारी
२७ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्य डा. रामकुमार अधिकारीले गोविन्द केसी हत्यारा भएको आरोप लगाएका छन । बुधबार रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा सांसद अधिकारीले माथेमा आयोगको प्रतिवेदन र डा.गोविन्द केसीको हठको कारण नेपाली विद्यार्थीहरु बिदेशमा पढ्न जान बाध्य भएको बताए ।
उनले भने,‘माथेमा आयोग र डा.केसी हत्यारा हुन, बंगलादेशमा डा. पढेर आएका नेपाली विद्यार्थीहरु गत वर्ष फागुनमा विमान दुर्घटनामा परेर मरे, यसको दोषी उहाँहरु नै हो, नेपालमा डाक्टरी पढ्न पाउने वातावरण भएको भए उनीहरु मर्ने थिएनन् ।’ उनले केही पत्रकाले डा. गोविन्द केसीलाई देवत्वकरण गरेको आरोप समेत लगाए ।

उनले भने,‘नेपाल विश्वमै एउटा यस्तो देश हो जहाँ बिधिको कुनै मूूल्य छैन्, कानूनको पालना गरिँदैन, एकजना सरकारी कर्मचारी अनशनमा बसेर सरकारलाई दलाल भन्दै यसो गर, उसो गरे भनेर निर्देशन दिन्छ, अनि पत्रकारहरुले उसैको बारेमा समाचार लेख्न मरिमेट्छन्, गोविन्द केसीको बिरुद्धमा बोल्नेहरु माफिया हुन, यस आरोपका बारेमा कुनै आधार चाहिँदैन, यस्तो मुलुक हो हाम्रो देश ।’
उनले अघि थपे,‘मनमोहन मेडिकल कलेजमा २६ सय जनाको एकलाख, दुइलाखको लगानी छ, अबका केही दिनमा डा.केसीसँग राजधानीमा मेडिकल कलेज खोल्न नपाईने सहमति हुन्छ, मनमोहन मेडिकल कलेज लिलाममा जान्छ, फेरी पत्रकारहरुले लेख्नेछन् माफियाहरुले सञ्चालनमा ल्याउन थालेको मेडिकल कलेजको सम्बन्धन खारेज भयो, यस्तै हो ।’
प्रकाशित मिति : २७ असार २०७५, बुधबार १६:३०












