३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको रिटमा सुनुवाई हुँदै, यस्तो आउन सक्छ आदेश


९ असार, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको रिटमा आजदेखि अन्तिम सुनुवाई सुरू हुनेभएको छ । देउवासहित १४६ निवर्तमान सांसदले लाइन बसेर दिएको रिट निवेदनमा आजदेखि अन्तिम सुनुवाई सुरू हुने यसअघि नै तोकिएको थियो ।

त्यसका लागि विपक्षीहरूले यसअघि नै लिखित जवाफ दिँदै आ(आफ्नो दलिल पेश गरिसकेका छन् । सर्वोच्चको संवैधानिक इजलासले जेठ २७ गते असार ९ देखि सुनुवाइ गर्ने गरी आदेश गरेको थियो । विघटनको एक महिनापछि अन्तिम सुनुवाइ प्रारम्भ हुन लागेको हो ।

आदेशअनुसार विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा लगायतले लिखित जवाफ पेस गरिसक्नुभएको छ । राष्ट्रपति कार्यालयले धारा ७६ को कार्यान्वयनका क्रममा राष्ट्रपतिलाई कुनै पनि निकायको सिफारिस आवश्यक नपर्ने, विश्वासको मत प्राप्त गर्न सक्ने वा नसक्ने यकिन गर्ने अधिकार राष्ट्रपतिसँग भएको जिकिरसहित जवाफ पठाएको छ ।

यसअघि सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउनका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । त्यस अन्तरिम आदेश र मंगलबारको सर्वोच्चको आदेश हेर्दा प्रतिनिधिसभा पुनस्थापना हुने सम्भावना निकै कमजोर देखिएको छ ।

यद्यपी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले प्राप्त गरेको विशेष सूचनामा २० मन्त्रीको जागिर जाने र प्रतिनिधिसभा पुनस्थानापना हुने बताउनुभएको थियो । प्रचण्डले प्राप्त गरेको सूचना अनुसारनै मंगलबार २० मन्त्रीको एकै पटक सर्वोच्चले जागिर खोसिदिएकाले प्रतिनिधिसभा पुनस्थापना हुन पनि सक्ने देखिन्छ । प्रतिनिधिसभा पुनस्थापना लागि सर्वोच्चलाइ टेक्ने बलियो आधार भने छैन् ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार ०८:०३