७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

महाकालीमा पानीको बहाव यस वर्षकै उच्च

६ असार, महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ ।

“मध्यरातमा पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो”, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले भन्नुभयो, “यो यस वर्षकै उच्च बहाव हो ।” महाकालीमा आएको बाढीका कारण भीमदत्त नगरपालिका–१२ ऐरीघाटमा स्थानीयवासी छ सोनाह परिवार विस्थापित भएका छन् ।

“विस्थापितलाई हामीले जनता प्राविमा आश्रय दिएर राखेका छौँ”, प्रनानि गुरुङले भन्नुभयो, “स्थानीय खोला थुनिदा छेउछाउका बस्ती जलमग्न भएका छन् ।” स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यसैगरी महाकालीमा आइरहेको बाढीले दुई दिनदेखि नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका संरचना भत्काउन थालेको छ । रु तीन अर्ब ६७ करोडको लागतमा निर्माणाधीन पुलको पहुँचमार्ग भत्काउनुका साथै बाढीले दोधारा चादँनीसित जोड्ने अस्थायी बाटोसमेत अवरुद्ध गराएको छ ।

त्यसैगरी पुलअन्तर्गत महाकालीमा निर्माण गरिएको टापु (आइल्याण्ड)समेत बगाएको पुल निर्माण कम्पनीले जनाएको छ । कुमार–सिएसइसी जेभीका इञ्जीनियर किशोरराज पाण्डेयले पुल संरचनामा बाढीले क्षति पुग्दा करोडाँै रकम बराबरको नोक्सान भएको बताउनुभयो । “गत जेठमा पनि बाढी आउँदा रु तीन करोडभन्दा बढीको क्षति भएको थियो”, उहाँले भन्नुभयो, “त्यसबेला कालोपत्र गर्न स्थापना गरिएको प्लान्ट नै बगाएको थियो ।”

उहाँले अहिले पनि पहुँचमार्ग, टापुलगायतका संरचनामा बाढीले क्षति पु¥याएको बताउँदै तत्काल निर्माणको काम प्रभावित हुने बताउनुभयो । “अस्थायीरूपमा क्षति कम होस् भनेर तारजाली ढुङ्गा भरान गरिरहेको भए पनि पानीको बहाव बढिरहँदा समस्या भयो”, उहाँले भन्नुभयो, “यसरी क्षति हुँदा निर्माणको समयावधि धकेलिने हुन्छ ।”

प्रकाशित मिति : June 20, 2021 at 10:27 am