७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

रसुवाको नौकुण्ड गाउँपालिकामा अस्पताल निर्माण सुरू

५ असार, रसुवा । नौकुण्ड गाउँपालिका क्षेत्रका बासिन्दालाई उपचारसेवा प्रदान गर्न अस्पताल निर्माणको काम शुरू भएको छ । ग्रामिण बासिन्दालाई स्थानीय स्तरमै उपचारसेवा प्रदान गर्ने सरकारी नीति कार्यान्वयन गर्दै दक्षिणी रसुवाको पारच्याङमा अस्पताल निर्माणको काम शुरू भएको हो ।

नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पुसाङ्वो घलेका अनुसार रू चार करोड ७५ लाखको लागतमा पाँच शय्याको ग्रामिण अस्पताल निर्माण हुन लागेको हो । ठेक्का प्रक्रियाबाट निर्माण कम्पनी छनौट भई स्थलगत रूपमा निर्माण कार्य शुरू भएको छ । डिजाइन अनुसार ३२ कोठा तयार हुने उक्त ग्रामिण अस्पताल आगामी दुई वर्ष भित्र पूरा गर्ने लक्ष राखिएको अध्यक्ष घलेले बताउनु भयो ।

पारच्याङको ग्रामिण अस्पताल निर्माण सम्पन्न भएपछि यार्सा, सरमथली, पाटीखर्क, थाङ्दोर, लाङ्वु, घोर्मु, सिङ्वन्दी लगायतका अन्य गाउँका करिब १३ हजार स्थानीयलाई उपचार सेवा प्रदान गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ । मानिस बिरामी हुँदा डोकोमा बोकेर नुवाकोटको त्रिशूली अस्पताल लानुपर्ने अवस्था पार गर्दै स्थानीय सरकार गठन भए पश्चात गाउँपालिकाद्वारा गाउँगाउँमा सडक निर्माण, एम्बुलेन्सको व्यवस्थापन एवं अस्पताल निर्माणको काम अगाडि बढाएपछि गाउँ क्षेत्रमा उत्साह बढेको स्थानीयले बताएका छन् ।

दूर दराजको गाउँ मानीएको यार्सा क्षेत्रमा गाउँपालिकाले ६४ किलोमिटर भन्दा लामो सडक निर्माण गरिसकेको र प्रायः गाउँमा सडक सञ्जाल जोडी सकेको बताइएको छ । वर्षायामको तीन महिना ग्रामिण सडक अवरूद्व हुने र अन्य समय यार्सा क्षेत्रमा निर्वाधरूपमा यातायात सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ । यस्तै रसुवाका पाँच वटै गाउँपालिका अन्तरगत गोसाइँकुण्ड , आमाछोदिङ्मो, कालिका र उतरगया गाउँपालिका क्षेत्रमा समेत अस्पताल निर्माण गर्न गृहकार्य भइरहेको जिल्ला समन्वय प्रमुख कुलप्रसाद भट्टले जानकारी दिनुभयो ।

प्रकाशित मिति : June 19, 2021 at 10:20 am