तारकेश्वरमा कांग्रेसको गुट भिडन्त, धेरै राजनीतिकरण नगर्न शिव अधिकारीको अपिल
-शिव अधिकारी
डेढ दशकदेखि हामी नुवाकोट तारकेश्वरको सेवामा अनवरत लागिपरेको कुरा सर्वविदितै छ । विकासको मूल अभिभारा राज्यको हो, तर यसमा राज्यलाई सघाउनु हामी सबै नागरिकको कर्तव्य हो । त्यसैले, आफ्नो गाउँपालिकाको विकासमा यथाशक्य सहयोग र सहकार्य गर्नु आफ्नो कर्तव्य ठानेर नै हामीले विभिन्न माध्यमबाट तारकेश्वरको सर्वांगीण विकासका लागि हरसम्भव प्रयास गरिआएका छौँ । डेढ दशकमा हामीले तारकेश्वरको सर्वांगीण विकासमा के कति योगदान दिन सकेका छौँ, त्यसको मूल्यांकन तारकेश्वरवासी आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरुले नै गरिरहनुभएको छ ।
कुनै पनि ठाउँको विकास अभियानमा त्यहाँका स्थानीय समुदाय र विशेष गरी युवा वर्गको साथ, सहयोग र अपनत्व चाहिन्छ । हामीले विगतदेखि नै तारकेश्वरमा यो साथ र सहयोग पाइरहेकै छौँ । विकासका अभियानमा युवाहरुको सहभागिता र अपनत्वलाई अझै वृद्धि गर्दै हाम्रा पहलकदमीलाई अझ प्रभावकारी बनाउने र स्थानीय सरकारसँग समेत सामूहिक रुपमा सहकार्य र खबरदारी गर्ने उद्देश्यले तारकेश्वरको विकासको सारथि बन्ने अभियानका रुपमा हामीले तारकेश्वर डेभलपमेन्ट फोर्स गठन गरेका हौँ ।
यो एक विशुद्ध सामाजिक अभियान हो । नेपाल सरकारका नीति, नियम तथा निर्देशनभन्दा बाहिर नगई स्थानीय सरकार, संघसंस्था र राजनीतिक दलहरुसँग समन्वय र सहकार्य गरी कार्य गर्ने हेतुले यो अभियान सञ्चालन गरिएको हो । छरिएर कार्य गर्दा भन्दा १०१ जना युवा समेटिएर एकै ठाउँ गोलबद्ध भएर विकासका विषयमा चासो, चिन्तन र पहल गर्दा पक्कै पनि उन्नत नतिजा निस्किन्छ भन्ने हाम्रो विश्वास हो । याे तत्कालको संख्या हो, यसमा अझै थुप्रै साथीहरूलाई जोडिने छ र एउटा विशाल समूह बनाइने छ । यो दलीय स्वार्थभन्दा माथि उठेर विकासका कर्ममा मात्रै केन्द्रित रहने जमर्को पनि हो ।
राजनीतिक रुपले म आफैँ नेपाली कांग्रेस पार्टीको अग्रमोर्चामा रहेर खटिरहेकै छु । यस अभियानमा जोडिएका साथीहरु पनि अधिकांश नेपाली कांग्रेस पार्टीसँगै आबद्ध र पार्टीप्रति आस्थावान साथीहरु नै हुनुहुन्छ । तर, यस अभियानभित्र रहेर हामीले राजनीति गर्ने होइन, विशुद्ध सामाजिक कार्य गर्ने हो । यो कुनै पार्टीकोे भ्रातृसंस्था होइन, सुभेच्छुक संस्था पनि होइन । यो केवल सामाजिक अभियान हो । यसले पार्टीसँग कुनै प्रतिस्पर्धा गर्ने पनि होइन । समानान्तर कार्य गर्ने पनि होइन । यसले त विशुद्ध विकास र समाजसेवाका कार्यमा सहकार्य गर्ने हो ।
तर, केही दिनदेखि सामाजिक सञ्जालमा यो अभियानलाई लिएर पार्टीको समानान्तर समिति नै बनाएजस्तो वा मैले एक्लै पार्टीसँग प्रतिस्पर्धा गर्न खोजेको जस्तो गरी पार्टीभित्रकै केही साथीहरुको निर्देशनमा हल्ला फिँजाइएको छ । अभियानमा जोडिने साथीहरुलाई सार्वजनिक वक्तव्य जारी गरेरै कारबाहीको धम्की दिने काम भइरहेको छ । नेपाली कांग्रेस पार्टीको नीति र विधानको मर्मलाई समेत कुल्चेर एउटा विशुद्ध सामाजिक अभियानमा जोडिने साथीहरुलाई धम्की दिने कार्य जोकोहीको निर्देशनमा भएको भए पनि त्यो सर्वथा निन्दनीय र खेदपूर्ण छ ।
यत्तिका वर्ष सामाजिक अभियानमा सक्रिय रहेर काम गरेकै हैसियतले भए पनि हामीले स्थानीय युवाहरुलाई समेटेर एउटा सामाजिक अभियान चलाउन नपाउने ? पार्टीमा आबद्ध साथीहरुले मिलेर विकास र समाजसेवाको अभियानमा लाग्छौँ भन्न नपाउने ? यस अभियानले पार्टीलाई कुनै नोक्सानी पुर्याउँछ भने प्रमाणित हुन्छ भने हामी आजै यो अभियान बन्द गर्न तयार छौँ । नत्र, कसैको कुत्सित मनसायमा ठेस लाग्ला भन्ने हीन मनोभावले ग्रसित भएर पार्टीका जिम्मेवार साथीहरुलाई वक्तव्यबाजी गर्न दबाब दिने र साथीहरुलाई अनाहकमा धम्क्याउने कार्य हामीलाई कदापि सह्य हुँदैन ।
हो, हामी नेपाली कांग्रेसका सिपाही हौँ । हामीले राजनीतिक वा गैरराजनीतिक रुपमै पनि केही राम्रो गर्न सक्यौँ भने त्यसले पार्टीलाई प्रत्यक्ष वा परोक्ष रुपमा फाइदै पुर्याउनेछ । हामीले आजसम्म पार्टीलाई घाटा पुग्ने वा पार्टीको नाम दुरुपयोग हुनेगरी कुनै काम गरेको छैनौँ, र गर्ने पनि छैनौँ । हाम्रो नेतृत्वमा हुने सामाजिक सेवाकर्मले पार्टीका साथीहरुलाई थप जागरुक गर्नेछ र अन्य स्वतन्त्र युवाहरुलाई समेत पार्टीप्रति आकर्षित गर्नेछ भन्ने हाम्रो विश्वास हो । तर, हामी पार्टीका लागि मात्रै समाजसेवा गरिरहेका छौँ भन्ने पनि होइन, हामी समग्र तारकेश्वरको विकास र सेवामा समर्पित छौँ ।
पछिल्लो समय पार्टीसँग आबद्ध अन्य साथीहरुले पनि तारकेश्वरमा कोरोना महामारी नियन्त्रणका लागि विभिन्न अभियानहरु चलाइरहनुभएको छ । मैले यसअघि नै ती अभियानहरुको प्रशंसा गरिसकेको छु । साथीहरुबाट चलाइने अभियानहरुमा पनि मेरो पूर्ण सहयोग रहनेछ । ती अभियानमा जुट्ने साथीहरुप्रति पनि हाम्रो उच्च सम्मान छ । साथीहरुकै अभियानमा सहकार्य गर्न पनि हामी सदैव तत्पर छौँ ।
महामारीका वेला एकअर्काको खुट्टा तान्नेभन्दा सके सबै मिलेर, नसके छुट्टाछुट्टै भए पनि जे जति सकिन्छ, जस्तो रुपमा सकिन्छ, गाउँको सेवामा आफूलाई समर्पित गर्ने बेला हो यो । त्यसैले, म सम्पूर्ण साथीहरुलाई कुनै पूर्वाग्रह वा दुराग्रह नराखी सामाजिक सेवाको अभियानमा जुट्नुहुन र हाम्रो अभियानप्रति कत्ति पनि भ्रममा नपर्नुहुन अनुरोध गर्दछु । तारकेश्वर डेभलपमेन्ट फोर्समा आबद्ध हुनुभएका र हुन लाग्नुभएका साथीहरुलाई म कुनै भ्रममा नपर्नुहुन र नडराइकन आफ्नो कर्ममा अघि बढ्नुहुन विशेष आग्रह गर्दछु ।
कुनै पनि दलले आफ्ना कार्यकर्तालाई समाजसेवामा लाग्नबाट वञ्चित गर्दैन । अझ नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक समाजवादी पार्टीले त त्यो कल्पना पनि गर्न सक्दैन । विकास र सेवा त पार्टीको नीति नै हो । हामी पार्टीको मर्म र भावनाकै पक्षमा अघि बढ्दै छौँ । त्यसैले, यसमा कत्ति पनि डराउनुपर्ने वा बिचलित हुनपर्ने अवस्था छैन ।
अन्त्यमा, हाम्रो अभियानप्रति कुनै सन्देह नराख्न र व्यक्तिगत स्वार्थसिद्धिका लागि भ्रम छरेर साथीहरुलाई आतंकित पार्ने दुस्प्रयास नगर्न हामी सम्बन्धित सबैमा आग्रह गर्दछौँ । पार्टीप्रति हामी सम्पूर्ण रुपमा बफादार र प्रतिबद्ध छौँ । पार्टीका हरेक अभियानमा हाम्रो उत्तिकै साथ र सहयोग रहन्छ । पार्टीसँग समानान्तर हुने वा पार्टीको हितविपरीत जाने हाम्रो कुनै मनसाय छैन । तर, स्वतन्त्र रुपमा सामाजिक कार्यमा लाग्न पाउने कसैको अधिकारमाथि धावा बोल्न खोज्ने दुष्कृत्य भने हामीलाई सह्य हुँदैन ।
त्यसैले, यो अभियानका विषयमा अनावश्यक भ्रम छर्ने काम कसैले पनि नगर्नुहुन र भ्रमको पछि लागेर कत्ती पनि नडगमगाउनुहुन म सम्पूर्ण साथीहरुमा फेरि पनि आग्रह गर्दछु । भ्रम छर्न उद्यत साथीहरुलाई हाम्रो आग्रह छ, राजनीति गर्ने ठाउँमा राजनीति गरौँ । सेवा गर्ने ठाउँमा जबर्जस्ती राजनीति नघुसाऔं । सकिन्छ, मिलेर काम गरौँ, सकिन्न भने काममा प्रतिस्पर्धा गरौँ । खुट्टा तान्नकै लागि सामाजिक अभियानलाई पार्टीसँग जोडेर दुस्प्रचार गर्ने काम भने बन्द गरौँ ।
(तारकेश्वर डेभलपमेन्ट फोर्सका संरक्षक अधिकारी नेपाली कांग्रेस नुवाकोटका नेता हुनुहुन्छ ।)
प्रकाशित मिति : June 12, 2021 at 9:17 pm





