७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

दाइजो थाेरै ल्याएकाे भन्दै नवदुलहीमाथि कुटपिट

२८ जेठ, महोत्तरी । महाेत्तरीमा दाइजो थाेरै ल्याएकाे भन्दै नवदुलहीमाथि कुटपिट भएको छ । प्रहरीले दाइजोमा ग्यास चुल्हो र सिलिन्डर लगायत सामग्री नदिएको भन्दै नवदुलहीमाथि कुटपिट भएको जनाएको छ । गत वैशाख १३ गते सर्लाही हरिपुर्वा नगरपालिकाका जोगनारायण साहसँग उनकाे विवाह भएको थियो । विवाह भएको चार दिनमै दाइजो थाेरै दिएको भन्दै श्रीमानसहित परिवारका सदस्यले उनलाई कुटपिट गर्न थालेकाे प्रहरीले जनाएकाे छ ।

कुटपिटबाट घाइते भएकी उनलाई माइती पक्षले उपचार गराएको छ । सर्लाहीको जिल्ला अस्पतालमा उपचारपछि अहिले स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएकाे छ । माइती पक्षले सर्लाहीको शान्ति सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयमा दोषीलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौडका अनुसार कुटपिटमा संग्लन ससुरालाई पक्राउ गरिएको छ । अन्य सदस्य भने भागेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । उनको विवाहमा नगद तीन लाख पचहत्तर हजार रुपैयाँ, दुई तोला सुन, १२ तोला चाँदी, फर्निचर र लत्ताकपडा गरी १२ लाख रुपैयाँभन्दा धेरै दाइजो दिईएको थियो । तर यो कम भएको भन्दै घरका सदस्यले कुटपिट गर्ने गरेका पीडितले बताएकी छिन् ।

प्रकाशित मिति : June 11, 2021 at 3:06 pm