७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

गुडिरहेको लोवेटमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै मृत्यु

२८ जेठ, सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–८ पत्तालेमा क्रेन बोकेर गुडिरहेको लोवेटमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । यहाँबाट पोखरातर्फ जाँदै गरेको ग१क ५१७३ नंको लोवेटमा राखिएको क्रेनले ३३ केभी प्रसारण लाइनमा छुँदा करेन्ट लागेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार लोवेट चालक बडीगङ्गा गाउँपालिका–५ बाग्लुङ स्थायी ठेगाना भएका २६ वर्षीय भूमिराज मरासिनी र क्रेन चालक स्याङ्जाका करीब २४ वर्षीय रामबहादुर परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान ८ः४० बजे सोलु खोलामा निर्माणाधीन ८६ मेगावाट हाइड्रोपावरको क्रेन मर्मतका लागि पोखरा लैजाँदै गर्दा सडकमाथि रहेको प्रसारण लाइनमा छुँदा घटना भएको प्रनाउ कटवालले घटनास्थलबाट जानकारी दिनुभयो ।

यस्तै सहचालक मालिका गाउँपालिका गुल्मीका १८ वर्षीय वसन्त पौडेल र स्याङ्जाका अन्दाजी २४ वर्षीय लीला परियार सामान्य घाइते भएको बताइएको छ । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाई अवरुद्ध सडक खुलाउने काम भइरहेको ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतले जानकारी दिनुभयो । सिद्धिचरण लोकमार्गमा पर्ने उक्त सडक क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइन छ ।

प्रकाशित मिति : June 11, 2021 at 12:25 pm