२ असार २०८१, आईतवार | Sun Jun 16 2024

अब कसैको कुरा सुन्दैनाै, जे भन्नुछ फैसलामा भन्छाैँः न्यायाधीश खतिवडा


२६ जेठ, काठमाडाैँ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाले संवैधानिक इजलाशमा अब कसैको कुरा पनि नसुन्ने बताउनुभएको छ । उहाँले अब जे भन्नुपर्छे छ त्यो पनि फैसलामै भनिने बताउनुभयो । बुधबार इजालाशमा बहस सुरू हुनअघि न्यायाधीश खतिवडाले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘केही प्रश्नहरुको उत्तर शब्दबाट दिनुपर्छ भन्ने हुँदैन, मौनताबाटै उत्तर दिन सकिन्छ । बेन्च गठनको विषयमा अब उप्रान्त केही सुन्दैनौँ । जे भन्नुपर्छ फैसलामै भन्छौँ । इजलासबारे अब केही सुन्दैनौँ, न्यायालयमाथि अब धेरै प्रहार सहँदैनौँ ।’

उहाँले अघि भन्नुभयो ‘प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास गनठबारे बिभिन्न प्रश्न उठेका छन्। सबै प्रश्नलाई ‘नोटिस’मा लिएका छौं। इजलासका सन्दर्भमा उठेका सबै प्रश्नको जवाफ शब्दले मात्रै दिँदैन, कहिलेकाँही मौनताले पनि प्रश्नको जवाफ दिन्छ। प्रश्नलाई कुन ढंगबाट सम्बोधन गर्नुपर्छ वा पर्दैन त्यो हामी जान्दछौं। संवैधानिक इजलासमा सम्मानीय प्रधानन्यायाधीशको विकल्प छैन। संविधानले नै प्रधानन्यायाधीशको विकल्प दिँदैन। बाँकी हामी चार जना न्यायाधीश एउटै डुंगामा छौं। हामी रहरले आएका होइनौ, यो जिम्मेवारी प्राप्त हुन आएको हो।’

उहाँले यो जिम्मेवारी अनुसार मुद्दालाई ‘लजिकल इन्ड’मा पुर्या‍उने  बताउँदै भन्नुभयो ‘बेन्च गठनबारे अब कुनै प्रश्न नउठाउनु होला। हामी त्यो सुन्दैनौं। बेन्च गठनलाई अनावश्यक रुपमा विवादमा ल्याइयो। विगतका १२ दिन हामी सबैका लागि बिर्सनलायक रहे। अब यसमा नअल्झिएर बहसलाई अगाडी बढाऔ।’ संवैधानिक इजलासमा रहेका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास नछाड्ने भएपछि प्रतिनिधिसभा विघटनविरद्धको मुद्दामा बहस जारी छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १२:५७