२ असार २०८१, आईतवार | Sun Jun 16 2024

पशु क्षेत्रको समग्र विकास गर्न तीव्र समन्वय आवश्यक


२५ जेठ, काठमाडाैँ । राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यवस्थापन प्रयोगशालाको अभियान सातै प्रदेश संगको समन्वयमा पशु आहारा क्षेत्रको समस्या पहिचानमा केन्द्रीत भएको छ । राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यवस्थापन प्रयोगशालाको संयोजन र गण्डकी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको समन्वयमा पशु आहाराको विकास, गुणस्तरीय दाना उत्पादन, घासको बीउको अवस्था र हाल कोभिडले पशु आहारामा पुर्याइरहेको असरका सम्वन्धमा गण्डकी प्रदेशमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुखहरु र अगुवा कृषकहरुको सहभागितामा भरचुअल माध्यम बाट अन्तरक्रिया भएको छ ।

कार्यक्रममा आगामी दिनमा प्रयोगशालाको सक्रियतामा तयार हुने पशु आहारा रणनीतिको सम्वन्धमा समेत छलफल गरी रचनात्मक राय सुझाव संकलन गरिएको छ । कार्यक्रमको औचित्यता माथि प्रकाश पार्दै प्रयोगशालाका प्रमुख डा शरण कुमार पाण्डेले प्रदेश स्तरको समन्वय र सहकार्यवाट मात्र पशु क्षेत्रको समग्र विकास गर्न सकिने भएकोले संघ र प्रदेश सगसगै अगाडी बढ्न आवस्यक देखिएकोले प्रयोगशालाले अहिलेको अवस्थालाई ध्यान दिदै भरचुअल विधि मार्फत बैठक राखिएको बताउनुभयो ।

आगामी दिनमा यस प्रकारको समन्वयत्मक वैठक बाकी ६ वटै प्रदेशमा गरि पशु आहाराको क्षेत्रमा प्रदेशगत रुपमा भएका समस्याहरुको उजागर गर्ने र सामधानको उत्तम विकल्प खोज्ने कार्यक्रम तय गरिएको पनि प्रमुखले बताउनु भयो । उक्त अन्तरक्रिया कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तर्फवाट कास्कीका प्रमुख डा शोभा शर्माले पशु आहारा रणनीतिमा दानाको गुणस्तर, साइलेज उत्पादनको लागि घासँ खेती, घासको विउको प्रमाणिकरण, आहारा सम्वन्धी एप्स निर्माण, माटो परिक्षण गरी घासको उत्पादन गर्ने कार्यको शुरुवात हुनुपर्ने जस्ता महत्वपूर्ण सुझाव राख्नु भएको थियो।साथै सहभागि कृषक व्यवसायीको तर्फवाट पनि समसामहिक विषयमा केन्द्रित रही पशु दानहरुको गुणस्तर, साइलेज, टिएमआरको वजारिकरणमा देखिएका समस्या, कोभिडको समयमा दूधको विक्रि वितरणमा आएको ह्रास जस्ता विषय उठान गर्नुभएको थियो।

समष्टिगत रुपमा बैठकमा उठेका विषयवस्तुलाई प्रयोगशालाले ग्रहण गर्ने र पशु आहारा रणनीति तयार गर्दा विशेष ध्यान दिने कुरा प्रयोगशालाका सूचना अधिकारी डा। इन्दिरा शर्माले बताउनु भयो।बैठकको सञ्चालन प्रयोगशालाको तर्फवाट पशु विकास अधिकृत सिता भट्टराईले गर्नुभएको थियो।प्रदेशस्तरको समन्वयलाई प्राथमिकतामा राखी आगामी दिनमा प्रदेश संग सहकार्यमा कार्यक्रमहरु गर्ने लैजाने सोच रहेको प्रयोगशालाका प्रमुखले बताउनुभयो।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार १८:२८