७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

सबै नागरिकलाई कोभिड- १९ विरुद्धको खोप लगाउने छौँः स्वास्थ्यमन्त्री तामाङ

२५ जेठ, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सरकार सबै नागरिकलाई कोभिड – १९ विरुद्धको खोपको व्यवस्थापनका लागि प्रयत्नरत रहेको बताउनुभएको छ । मंगलबार बागमती प्रदेश स्काउट अन्र्तगत गोकर्णेश्वर नगरपालिकाको स्थानिय स्काउट कार्यक्रमको उद्घाटनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री तामाङले सबै नागरिकलाई कोभिड- १९ विरुद्धको खोप लगाउनको लागि सरकारले प्रयास गरिरहेको बताउनुभएको हो ।

खोप ल्याउने क्रम जारी रहेको भन्दै उहाँले उमेर समुह अनुसार क्रमशः खोप दिदैँ जाने बताउनुभयो । दोस्रो मात्रा लगाउन बाँकी रहेकाहरुको हकमा पनि छिट्टै खोप ल्याएर दिइने बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामी खोप छिट्टै ल्याउँदैछौ । खोपहरु आउनेछ । हामी धेरै पहलकदमी गरिरहेको छौँ । क्रमैसँग सबैलाई खोप लगाइनेछ । खोप सुनिश्चित गर्नेछौँ । नेपाली जनताको रक्षाको लागि मैले गर्नुपर्ने हरतरहको प्रयत्न गर्नेछु ।

खोप जति आउँछ त्यसलाई क्रमैसँग उमेर समुहलाई ध्यानमा राखेर गरिरहेका छौँ । बाँकी रहेका हरुका लागि पनि छिट्टै खोप ल्याएर दोस्रो डोज लगाउने कुरामा पनि हामी प्रतिबद्ध छौँ । आम नागरिकलाई खोप लगाउनको लागि आवश्यक पर्ने खोपको व्यवस्थापनका लागि हामी प्रयत्न गरिरहेका छौँ ।’ बागमती प्रदेश स्काउटले बागमती प्रदेशभित्रका जिल्लाहरुमा स्थानीय स्काउट कार्यक्रम अन्र्तगत कोरोनाविरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रम आजदेखि सुरुवात गरेको छ ।

कोभिड – १९ कोरोना भाइरसबाट बच्नका लागि जनस्वास्थ्यको मापदण्ड अपनाउने सन्दर्भमा स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सुचना तथा जानकारीहरु बजाउँदै टोल–टोलमा मोटरसाइकलमार्फत् सूचना जानकारी दिने अभियानका संयोजक सुदर्शन बजगाँईले जानकारी दिनुभयो । आगमी १५ दिनसम्म कार्यक्रम सञ्चालन गर्ने र प्रभावकारिता हेरेर थप गर्ने स्काउटले जनाएको छ ।

प्रकाशित मिति : June 8, 2021 at 1:56 pm