७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

टोखाले दुई अस्पतालबाट कोरोना खोप उपलब्ध गराउने

२५ जेठ, काठमाडौँ । टोखा नगरपालिकाले दुई अस्पतालबाट कोभिड–१९ विरुद्धको चिनियाँ भेरोसेल खोप उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष पहलमा चीन सरकारले उपलब्ध गराएको १० लाख डोज कोरोना खोप ६० वर्षदेखि ६४ वर्ष उमेर समूहलाई लगाउने सरकारले घोषणा गरेसँगै टोखाले पनि दुई अस्पतालबाट खोप उपलब्ध गराउन लागेको हो ।

नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले आजदेखि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र अल नेपाल अस्पताल सामाखुशीबाट बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप उपलब्ध गराउन लागेको राससलाई जानकारी दिनुभयो ।

टोखाले कोरोना खोपका लागि अनलाइन फारम भरेका नागरिकलाई मोबाइलबाट म्यासेज पठाउने र खोपका लागि उपस्थित हुनका लागि सूचना दिने तथा फारम नभरेका नागरिकलाई नागरिकतासहित दिउँसो २ बजे नजिकको खोप केन्द्रमा उपस्थित हुन आग्रहसमेत गरेको छ ।

टोखाले ६० वर्ष उमेर समूहलाई जेठ २५, ६१ वर्ष उमेर समूहलाई जेठ २६, ६२ वर्ष उमेर समूहलाई जेठ २७, ६३ वर्ष उमेर समूहलाई जेठ २८ र ६४ वर्ष उमेर समूहलाई जेठ २९ गते खोप उपलब्ध गराउने जनाएको छ । विसं २०१३ असार १ देखि २०१८ असार मसान्तभित्र जन्मिएका जो कोहीलाई खोप उपलब्ध गराउने उपप्रमुख डङ्गोलले बताउनुभयो ।

प्रकाशित मिति : June 8, 2021 at 11:12 am