७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

सरकारले यसअघि नै बनाएका नीति तथा योजनालाई कार्यान्वयन गर्छुः मन्त्री चौधरी

२३ जेठ, काठमाडाैँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले सरकारले यसअघि नै बनाएका नीति तथा योजनालाई कार्यान्वयन गर्नु आफ्नो प्राथमिकता रहेको बताउनुभएको छ । आइतबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री चौधरीले सरकारले बनाएका नीति तथा योजना जुन कार्यान्वयन हुन सकेका छैनन् । ति कार्यान्वयन हुन नसकेका कामहरुलाई कार्यन्वयन गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको हो ।

उहाँले महिला, बालबालिका तथा जेष्ठ नागरिकले सरकारबाट पाउनुपर्ने सेवा सुविधालाई छिटो र सहज रुपमा दिलाउन पनि आफुले जोड दिने बताउनुभयो । उहाँले महिला, बालबालिका, जेष्ठ नागरिक तथा एकल महिलाले राज्यबाट पाउने सुविधा कतिपय स्थानिय निकायको ढिलासुस्तीले गर्दा समयमै नपाएको गुनासोहरु भएको भन्दै आफ्नो सेवा प्रवाहलाई दुस्तदुरुस्त राख्न आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो – ‘मेरो कार्य योजना, नीतिगत कामहरु त छदैँछ ।

तर कस्तोलाई प्राथमिकता दिने, धेरै योजना बनाएर मात्रै होइन, जुन बनेको योजनालाई पनि कसरी सकारात्मक रुपले त्यो समस्यालाई समाधान गर्ने, धेरै योजनाहरु बनाउँछौ तर कार्यान्वयन हुन्छ कि हुँदैन त्यसमा जोड दिन जरुरी छ । म विश्वास दिलाउँछु, जुन नीतिहरु बनिसकेको छ । जुन कार्यान्वयन भईसकेको छैन । त्यसमा बढी नै जोड दिएर गर्नेछौँ । धेरै चिज बनाएर एकैचोटी यो गर्छु, त्यो गर्छु भन्दापनि बनेको नेपाल सरकारको संविधानदेखि नियम, कानुन, महिला, बालबालिका, जेष्ठ नागरिक, सामाजिक सुरक्षा जे पनि छ त्यसलाई कसरी कार्यान्वयन र छिटोभन्दा छिटो मन्त्रालयबाट पाउने सेवा, सुविधा हो त्यसमा जोड दिने ।’

मन्त्री चौधरीले समाजमा रहेका विभिन्न कुरिति अन्त्यका लागि ५ वर्षिय रणनीतिक कार्ययोजनाको फाइल सदर गरेर कार्यभार सम्हाल्नुभएको हो । कार्यभार सम्हाल्दै उहाँले देशमा विद्यमान दाइजो प्रथा र बालविवाह अन्त्यका लागि काम गर्ने पनि बताउनुभयो ।

प्रकाशित मिति : June 6, 2021 at 1:12 pm