७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

नेपालमा कोरोनाको नयाँ भेरिएन्ट फेला परेकाे छैनः डब्ल्यूएचओ

२० जेठ, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोना भाइरसको कुनै नयाँ स्वरुप पुष्टि नभएको प्रष्ट्याएको छ । बेलायतबाट प्रकाशित हुने पत्रिका डेली मेलले कोरोना भाइरसको ‘नेपाल स्वरुप’ भनेर समाचार प्रकाशन गरेको गरेपछि विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस(सार्स–कोभ–२)को नयाँ स्वरुप फेला परेको सम्बन्धमा कुनै जानकारी नभएको बताएकाे हाे ।

डेली मेलकाे उक्त समाचारपछि नेपालमा कोरोनाभाइरसको नयाँ स्वरुप साँच्चिकै पुष्टि भएको हो की सबाल उठेको थियो । तर नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले नयाँ स्वरुपबारेको भ्रमलाई चिरेको हो । विश्व स्वास्थ्य संगठनले सामाजिक सञ्जाल फेसबुकको आफ्नो पेजमा नेपालमा हालसम्म कोरोनाको तीन स्वरुप मात्रै पुष्टि भएको उल्लेख गरेको छ ।

डेली मेलले आफ्नो जुन २ को अङ्कमा ‘नेपाल भेरिएन्ट थ्रेट टु आवर होलीडे’ शीर्षक राखेर आवरण समाचार प्रकाशन गरेको थियो । बीबीसीले भने उक्त समाचारलाई ट्वीट गरेको थियो । कोरोनाभाइरसको नेपाली स्वरुपलाई लिएर बिदामा जान जोखिम उत्पन्न हुने आशयसहितको उक्त समाचार डेली मेलले प्रकाशन गरेको थियो । बेलायत सरकारले कोरोनाभाइरसको जोखिम रहेको राष्ट्रलाई रातो सूचीमा राख्दै भ्रमण तथा यात्रामा प्रतिबन्ध लगाउँदै आएको छ । आगामी दिनमा हुने सरकारी बिदामा नेपाललाई गन्तब्य सूचीमा राख्न सकिने भएपछि डेली मेलले उक्त समाचार प्रकाशन गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले भने नेपालमा अल्फा, डेल्टा र कप्पा गरी तीन स्वरुप मात्रै पुष्टि भएको जनाएको छ । विश्व स्वास्थ्य संगठनले बी.१.१.७ लाई अल्फा, बी.१.६१७.२ लाई डेल्टा र बी.१.६१७.१ लाई कप्पा नामाकरण गरेको छ । कोरोनाको तीन वटा स्वरुपमध्ये नेपालमा हाल डेल्टा(बी.१.६१७.२) स्वरुप तीब्र रुपमा फैलिएको छ । कोरोनाको डेल्टा स्वरुप बेलायतबाट भारत भित्रिएको स्वरुप उत्परिवर्तन भएर नयाँ स्वरुप ग्रहण गरेको हो ।

प्रकाशित मिति : June 3, 2021 at 2:29 pm